
केशब पाठक,
पोखरा, ३ चैत्र । यूवा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्मा सु्नारले आफ्नो एक वर्षे कार्यकालको फेहरिस्त पेश गर्दै उपलव्धीपूर्ण र विश्वासिलो आधारशिला तयार भएको बताएका छन ।
यूवा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रि विश्वकर्माले यो एक वर्ष नेपाली खेलकुदमा हिजोका दिनमा देखिएका चुनौतीहरुको समाप्त गर्दै नयाँ आधारशिलाहरु स्थापना गर्न उत्तिकै महत्वपूर्ण समेत रहेको बताउँदै भने–“आगामी दिनमा थप विकास, विस्तार, प्रगति र समृद्धिका लागि एउटा बलियो आधार निर्माण भएको विश्वाश लिएको छु ।”
युवा र खेलकुदको विकास र विस्तार गरी “समृद्ध नेपाल, सुखी नेपाली” को दीर्घकालीन राष्ट्रिय लक्ष्य हासिल गर्न सरकारको नीति तथा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै प्रयास हुँदै आएको बताउँदै मन्त्रि विश्वकर्माले भने–“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारालाई निरन्तरता दिंदै विद्यमान समस्या, चुनौति र अभिभारा पूरा गर्ने दिशामा केन्द्रित भएर मन्त्रालय अगाडी बढेको छ ।”
देशको प्रतिष्ठा र गरिमा बढाउन विभिन्न अन्तर्रा्ष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा नेपाली खेलाडीहरुको सहभागिता र उपलब्धीमा उल्लेखनीय बृद्धि हुँदै गएको बताउँदै मन्त्रि विश्वकर्माले नेपालमा नै विभिन्न खेलका अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजना भएको बताए । उनले आगामी सन् २०१९, डिसेम्वरमाा नेपालमा आयोजना हुने तेह्रौं दक्षिण एशियाली खेलकुद प्रतियोगिताका लागि व्यवस्थापकीय तयारी र पूर्वाधार निर्माणका कार्यहरु तीब्रताका साथ अघि बढाइएको जानकारी दिए ।
काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रिय स्तरको खेलकुद परिसर र सात वटै प्रदेशमा आधुनिक सुविधा सम्पन्न रङ्गशाला निर्माणको कार्य प्रकृया अगाडि वढिरहेको बताउँदै मन्त्रि विश्वकर्माले यसैगरी ७५३ वटै स्थानीय तहमा दीर्घकालीन महत्वका खेलग्राम निर्माण गर्नका लागि खेल पूर्वाधार निर्माण सम्बन्धी कार्यविधी मन्त्रिपरिषद्को बैठकबाट पारित भई कार्यन्वयनमा आएको बताए ।
खेलाडीहरुलाई प्रोत्साहन गर्न नगद पुरस्कार, बीमा, मासिक सम्मान भत्ताको व्यवस्था गरिएकोर नियमित तालिम, प्रशिक्षणका साथै खेलकुदको संस्थागत विकास र सुशासन कायम गर्न राष्ट्रिय खेलकुद परिषद्को संस्थागत, नीतिगत एवं प्रशासनिक सुधारमा जोड दिइएको मन्त्रि विश्वकर्माले बताए । उनले खेल संघहरुमा देखिएका विवाद र समस्या समाधान गरी खेल क्षेत्रलाई स्वच्छ, मर्यादित र एकताबद्ध बनाउन आवश्यक पहल भईरहेको र राष्ट्रिय खेलकुद परिषद्का कर्मचारीहरुलाई खेल संघको कार्य समितिमा नरहन निर्देशन गरिएको उल्लेख गरे ।
यूवाको क्षेत्रमा समेत उपलव्धीपूर्ण कार्यहरु गरेको बताउँदै मन्त्रि विश्वकर्माले विकास र समृद्धिको मेरुदण्डको रुपमा रहेको युवा जनशक्तिलाई राष्ट्र निर्माणमा परिचालन गर्न, श्रम र उत्पादनसंग जोडन, युवाको क्षमता र नेतृत्व विकास गर्दै आर्थिक र सामाजिक, साँस्कृतिक रुपान्तरणको अभियानमा क्रियाशील गराउन जोड दिइएको बताए ।
कास्कीमा मन्त्रि विश्वकर्माको प्रभाव
कास्कीको निर्वाचन क्षेत्र ३ बाट पहिलो पटक निर्वाचित मन्त्रि जगत बहादुर विश्वकर्मा सुनार कुशल नेतृत्वकर्ता र इमान्दार नेताको रुपमा पार्टी पंक्ति भित्र परिचित छन । दुई वटा गाउँपालिका र पोखरा महानगरपालिकाको केही भूभाग ओगटेको कास्की निर्वाचन क्षेत्र ३ हाइ अल्टिच्यूट र पराम्परागत खेलकूदका रुपमा परिचित छ । मन्त्रि विश्वकर्माले आफ्नो पदभार संगै पहिलो बजेटमा यस क्षेत्रको १३ वटा खेलकुद मैदानलाई स्तरोन्नती गर्न १ करोड ३५ लाख बजेट विनियोजन गरि काम पनि सुरु भइसकेको छ । उनले संघ र प्रदेश सरकारको पहलमा खेलकुद संगै बिकास निर्माण तथा खानेपानी, सडक लगाएतका कामका लागि समेत करोडौंको बजेट विनियोजित गरि कामलाई तिव्रता दिएका छन ।
आफ्नो एक वर्षे कार्यकालको लेखा जोखा भइरहँदा यूवा तथा खेलकुद मन्त्रि विश्वकर्माले कास्कीको निर्वाचन क्षेत्र नं ३ को माछापुच्छ्रे गाउँपालिकामा एन्फा टेक्निकल सेन्टर जस्तो महत्वपूर्ण कार्यको स्थापना गर्न पनि भूमिका खेलेका छन । करिब १ अर्व २८ करोड २२ लाखको पोखरा फुटबल स्टेडियम जस्तो महत्वपूर्ण परियोजनाको काम पनि अघि बढाउनेमा उनी दत्तचित्त भएर लागेका छन । उनले नै फुटबल स्टेडियमको हालै मात्र शिलन्यास समेत गरिसकेका छन । उक्त स्टेडियमका लागि अन्य आवश्यक सम्पूर्ण रकम करिब १ अर्व ७५ करोड पनि विनियोजित गर्न उनी सफल भएका छन ।
जनताको विचमा रम्न रुचाउने मन्त्रि विश्वकर्मा कास्कीमा आयोजना हुने खेलकुद र सामाजिक कृयाकलापका कार्यक्रमहरुमा संधै देखा पर्छन । प्राय मन्त्रि वा उपल्लो दर्जामा गइसकेपछि गाउँ भूल्ने नेता भन्दा उनी धेरै पृथक छन । मन्त्रालयको फुर्सदको क्षण प्राय उनी कास्कीकै कुनै गाउँघरमा डुलेका भेटिन्छन र त्यहाँको समस्याको वस्तुस्थितीलाई नजिक बाट हेरेर समस्याको खोजी तर्फ लाग्छन ।
