
पोखरा स्पा्र्टस । स्थापनाको ७५ वर्ष पुगेको उपलक्ष्यमा हीरक महोत्सव वर्ष मनाइरहेको राष्ट्रिय मा.वि पोखरा १ पुरानो टुंडिखेलले आयोजना गरेको जिल्ला स्तरीय ५ किमी छात्र/छात्रा सडक दौड प्रतियोगिता सम्पन्न भएको छ ।

पोखरामा शनिवार बिहान सम्पन्न उक्त प्रतियोगिता छोरेपाटन माविका तेन्जेन रोक्का मगर र गौरीशंकर माविकी छात्रा कवितामगरले जितेका छन् । स्वर्ण पदक जितेका तेन्जेनले दौड पुरा गर्न १६ मिनेट ५७.६३ सेकेण्डको समय लिंदा कविताले २२ मिनेट ३२.०१ सेकेण्डमा दौड पुरा गरिन् ।
त्यसै गरी छात्रतर्फ छोरेपाटन माविका प्रकाश थिङले १७ मिनेट १२.६३ सेकेण्डको समयमा दौड पुरा गरी रजत पदक हात पार्दा अक्सफोर्डका इश्वर ढकालले १७ मिनेट ४७.९४ सेकेण्डमा दौड पुरा गरी काश्य पदक जिते ।
यता छात्रातर्फ मेघराज आधारभुतकी एन्जिला जिटीले २२ मिनेट ३५.०९ सेकेण्डमा दौड पुरा गरी रजत पदक हात पारिन् भने छोरेपाटन माविकी साधना सेवाले २२ मिनेट ४६.०५ सेकेण्डमा दौड पुरा गरी रजत पदक जितिन् ।
दौडमा छात्र÷छात्रा दुवैतर्फ प्रथम हुनेले नगद ७ हजार, पदक र प्रमाणपत्र, द्वितिय हुनेले नगद ५ हजार, पदक र प्रमाणपत्र र तृतीय हुनेले नगद ३ हजार, पदक र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा चौथो देखि दशौं स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगितामा कास्की जिल्लाका ४४ विद्यालयका ६ सय १४ छात्र र २ सय ५४ छात्राहरु गरी ८ सय ६८ जना प्रतियोगिहरु सहभागी रहेको हीरक महोत्सव खेलकुद उपसमितिका संयोजक एवं पूर्व विद्यार्थी तेज बहादुर गुरुङले बताए ।
बिजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सभाका सांसद गणेशमान गुरुङ, वडा नं १का अध्यक्ष शाहारा प्रधान, अग्रज खेलाडी खड्ग बहादुर रानाभाट, विद्यालयका प्रअ इश्वरी सापकोटा, नेपाल भूतपूर्व खेलाडी मञ्चका कार्यबहाक अध्यक्ष दिल बहादुर गुरुङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम विक्रम राणालगायतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
यसै क्रममा बिजेता खेलाडीहरुलाई नेपाल भूतपूर्व खेलाडी मञ्चले प्रोत्सहान स्वरुप पोखरा म्याराथन लोगो अंकित टिशर्ट प्रदान गरेको थियो ।
राष्ट्रिय मा.विको प्राङगण हरिचोकबाट सुरु भएको दौड हरिचोकबाट बिन्दबासिनी मन्दिर, बाग्लुङ बसपार्क, भिमसेन मन्दिर, ज्ञानभुमि स्कुल, बालमन्दिर मावि, पिएन क्याम्पस, भीमकालीपाटन हुदै सिमपानीचोक पुगेर पुन विद्यालयको प्राङगण पुगेर सम्पन्न भएको थियो ।
