
पोखरा स्पोर्टस । पोखरामा मंगलबारबाट सुरु भएको १२ औं राष्ट्रिय आर्चरी च्याम्पियनसिपमा रिकर्वतर्फ कास्कीका अशिम शेरचनले अग्रता कायम गरेका छन् ।
नेपाल आर्चरी संघको आयोजनामा पोखरा रंगशालास्थित आर्चरी केन्द्रमा सुरु भएको प्रतियोगिता उनले कुल ६१२ अंक सहित अग्रता कायम गरेका हुन् । रिकर्वतर्फ निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल आर्मी क्लबका रोशन नगरकोटी अशिम भन्दा १ अंकले पछि छन् । उनले ६११ अंक प्राप्त गरे भने रिकर्वतर्फ नै नेपाल आर्मीकै डम्बर थापा ६१० अंकका साथ तेस्रो स्थान बनाएका छन् ।
यस्तै रिकर्व महिलातर्फ नेपाल पुलिसकी देवीकला राई ५९५ अंकका साथ अग्रस्थान बनाउँदा नेपाल आर्मीकी ज्ञानु अवाले ५४५ अंकका साथ दोस्रो स्थान र बाँकेकी तुलसी थापा ५४१ अंकका साथ तेस्रो स्थानमा रहेकी छन् ।
प्रतियोगिता अन्तर्गत कम्पाउण्ड पुरुषतर्फ कास्कीका खेम बहादुर क्षेत्री ६९० अंकका साथ पहिलो स्थान अघि बढ्दा कास्कीकै सुरेश गुरुङ ६४७ अंकका साथ दोस्रो र एपिएफ क्लबका रमेश भट्टचन ६४० अंक प्राप्त गरी तेस्रो स्थानमा कायम रहे ।
यसै गरी स्टाण्डर्ड पुरुष बागलुङका ओम बहादुर घर्ती मगर ६५१ अंकका साथ पहिलो, पर्वतका मोहन श्रीष ६३६ अंकका साथ दोस्रो र बागलुङका मनोज पुन मगर ६३५ अंकका साथ तेस्रो स्थानमा अघि बढेका छन् ।
त्यस्तै महिलातर्फ त्रिभुबन आर्मीकी सरु तामाङ ५९४ अंकका साथ पहिलो, त्रिभुवन आर्मीकै सरला विक ५७१ अंकका साथ दोस्रो र कास्कीकी कृषा गुरुङ ५२२ अंकका साथ तेस्रो स्थानमा रहँदै पहिलो दिनको खेल सकाएको नेपाल आर्चरी संघका सचिव योगेन्द्र शेरचनले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
यस अघि उक्त प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच राखेपका सदस्य सचिब टंकलाल घिसिङले उद्घाटन गरेका थिए ।
प्रतियोगितामा तीन विभागिय टोलीसहित बिभिन्न ११ जिल्लाका खेलाडीहरु गरी ६५ जनाको सहभागिता रहेको छ । प्रतियोगिता तीन दिन सम्म सञ्चालन हुने छ ।
