
पोखरा स्पोर्टस । पोखरामा १२ औं राष्ट्रिय आर्चरी च्याम्पियनसिप मंगलबारबाट सुरु हुने भएको छ ।
नेपाल आर्चरी संघको आयोजनामा उक्त प्रतियोगिता पोखरा रंगशालामा सञ्चालन हुने भएको हो । प्रतियोगितामा तीन विभागिय टोली सहित विभिन्न ११ जिल्लाका गरी ६५ खेलाडीहरुको सहभागिता हुने नेपाल आर्चरी संघका केन्द्रिय सचिव योगेन्द्र शेरचनले जानकारी दिएका छन् ।
पोखरा स्पोर्टस संग कुरा गर्दै सचिव शेरचनले प्रतियोगितामा ५१ जना पुरुष र १४ जना महिलाहरुले विभिन्न तीन विद्यामा १० इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् । ७० मिटर रिकर्वतर्फ महिला तथा पुरुष, ५० मिटर कम्पाउण्ड र स्टाण्डर्ड महिला/पुरुष ३० मिटरतर्फ प्रतिस्पर्धा हुने शेरचनले जानकारी दिए ।
प्रतियोगिता एसियाडमा सहभागी भइसकेका खेलाडीहरु तिलक पुन, मञ्जु बजगाँइ, अशिम शेरचन, ज्ञानु अवाले, रमेश भट्टचनलगायतका खेलाडीहरु समेतको सहभागिता हुने सचिव शेरचनले जानकारी दिए ।
प्रतियोगिता राष्ट्रिय खेलकुद परिषदको सहकार्यमा हुन लागेको हो । प्रतियोगिताको उद्घाटन रखेप सदस्य सचिव टंकलाल घिसिङले गर्ने कार्यक्रम तय भएको छ । प्रतियोगिता तीन दिन सम्म सञ्चालन हुनेछ ।
फायल तस्विर
