पोखरा स्पोर्टस अवार्डमा चर्चा उदीयमान खेलाडीको, ज्योत्सनिका, दिलासा र बादलको प्रतिष्पर्धा, को होला सवोत्कृष्ट ?

पोखरा स्पोर्टस । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोटर््स अवार्ड २०८० को तयारी तीव्र छ । यहीं वैशाख २८ गते शुक्रबार हुने अवार्डका लागि ४ विधामा उत्कृष्ट तीन खेलाडीको मनोनयन सार्वजनिक गरिएको छ । जसमध्ये उदीयमान खेलाडीतर्फको विधामा क्रिकेटकी ज्योत्सनिका मरासिनी, ब्याडमिन्टनकी दिलासा राना र एथलेटिक्सका बादल कार्की उत्कृष्ट तीनमा परेका छन् ।

ज्योत्सनिका मरासिनी (क्रिकेट)
१३ वर्षमै राष्ट्रिय प्रतियोगितामा चर्चा पाएको नाम हो ज्योत्सनिका मरासिनी । स्याङ्जा जन्मिएकी मरासिनीले २०७७ सालमा दाङमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट डेब्यु गरेकी थिइन् ।

१३ वर्षको उमेरकी मरासिनीले आफूभन्दा दोब्बर बढी उमेरका दिदीहरू विरुद्ध क्रिकेट खेल्दै धेरै चर्चा बटुलेकी हुन् । उनले प्रदर्शन पनि उत्तिकै राम्रो गरेकी थिइन् । घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरेकी ज्योत्सनिकाले कम उमेरका कारण २०७९ मा मलेसियामा भएको यु–१९ विश्वकप गुमाएकी थिइन् ।

यस वर्ष भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा १६ वर्षकी ज्योत्सनिका प्रतियोगिताकै उदीयमान खेलाडी घोषित भइन् । २०८० मा भएको सिनियर टोलीको एसिसि महिला प्रिमियर कपको क्लोज क्याम्पमा परे पनि अन्तिम टोलीमा भने नाम बनाउन सकिनन् । उनले नेपाल क्रिकेट सङ्घ (क्यान) ले गर्ने केन्द्रीय सम्झौतामा उदीयमान खेलाडीको रूपमा स्थान बनाएकी छन् ।

यस वर्ष नेपालगन्जमा भएको सुशील कोइराला मेमोरियल यु–१९ क्रिकेट प्रतियोगितामा ज्योत्सनिका चौथो सर्वाधिक रन बनाउने खेलाडी बनिन् । चितवनमा भएको मैयादेवी यु–१९ राष्ट्रिय क्रिकेटमा गण्डकी उपविजेता बन्यो । उक्त प्रतियोगितामा ज्योत्सनिका सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो नम्बरमा रहिन् । प्रदेशस्तरीय प्रधानमन्त्री कपमा उनी उत्कृष्ट बलर घोषित भइन् ।

दिलासा राना (ब्याटमिन्टन)
१० वर्षको उमेरमा बाबाले खेलेको खेल पछ्याएकी दिलासा राना सानै उमेरमा अन्तर्राष्ट्रिय खेल मात्र खेलेकी छैनन्, नेपाललाई अन्तर्राष्ट्रिय पदकसमेत दिलाएकी छन् । लकडाउनको समयबाट उनले ब्याडमिन्टन खेल्न सुरु गरेकी हुन् । उनले यो वर्ष नेपालमा भएको साउथ एसियन रिजन जुनियर च्याम्पियनसिपमा ३ पदक जित्न सफल भइन् । त्यसमा उनले एक रजत र दुई काश्य पदक जितेकी हुन् ।

उनले २०७९ मा गण्डकी प्रदेश भएको नवौँ राष्ट्रिय खेलकुदबाट राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेकी थिइन् । त्यसयता उनले जुनियर स्तरमा राष्ट्रिय प्रतियोगितामा आफ्नो पकट जमाउन सफल भएकी छन् । उनले पुष्पलाल राष्ट्रिय यु–१९ प्रतियोगितादेखि अन्तर प्रदेश राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा पदक जितिसकेकी छन् ।

उनले फागुनमा काठमाडौँमा भएको १३औँ पुष्पलाल स्मृति राष्ट्रिय ¥याङकिङ ब्याडमिन्टनमा जुनियरतर्फ उपाधि जितेकी हुन् । चितवनमा भएको अन्तर प्रदेश राष्ट्रिय खेलकुदमा दिलासाले ३ पटक हार पारिन् । उनले डब्बलमा प्रथम, मिक्स डब्बलमा दोस्रो र सिङ्गलमा तेस्रो भइन् । गत पुसमा भएको ललितपुर मेयर कपको दोस्रो र दोस्रो मोहन भुंगल फाउन्डेसन जुनियर राष्ट्रिय प्रतियोगितामा पहिलो हुन सफल भइन् ।

बादल कार्की (एथलेटिक्स)
एथलेटिक्सका भविष्य हुन्, बागलुङका बादल कार्की । बागलुङ काठेखोला गाउँपालिका ७ का १७ वर्षीय बादलले नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा पदक ल्याउनेदेखि म्याराथन दौडनसमेत भ्याइसकेका छन् । उनले भारतको नागाल्यान्डमा भएको यु–२० साउथ एसियन क्रस कन्ट्री प्रतियोगिता अन्तर्गत ८ किमी दौडमा नेपालको तर्फबाट काश्य पदक जितेका थिए । यस्तै पोखरा सञ्चालन हुने सफल पोखरा म्याराथनमा २ वर्ष अघि नै भाग लिएका थिए । सानै उमेरमा उनले ४२ किलोमिटर दुरी पूरा गरे ।

कार्कीले भर्खरै सकिएको १४औँ केन्द्र स्तरीय राष्ट्रपति रनिङ शिल्डअन्तर्गत एथलेटिक्स खेलमा दुई स्वर्ण पदक जित्न सफल भए । १५०० र ८०० मिटर इभेन्टमा उनले स्वर्ण पदक जितेका हुन् । उनले तेस्रो पटकमा राष्ट्रपति रनिङ शिल्डमा पदक जित्न सफल भएका हुन् । उनी जिल्ला, प्रदेशमा पदक जित्दै केन्द्र स्तरीय राष्ट्रपति रनिङ शिल्डमा भाग लिएका थिए । उनले प्रदेश स्तरमा दुई स्वर्ण, एक रजत र एक काश्य जितेका थिए । जिल्ला स्तरीय प्रतियोगितासमेत उनको प्रदर्शन उत्कृष्ट थियो । २०७९ मा गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदमा ३ हजार मिटर स्टेपल चेजमा दौडेका बादल छैटौँ भएका थिए ।

पोखरा सभागृह हलमा हुने स्पोर्ट्स अवार्डमा उदीयमान खेलाडी सहित कुल ७ विधामा अवार्ड प्रदान गरिनेछ । वर्ष खेलाडी पुरुष र महिला हुन सफल खेलाडीले इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ । वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले नगद ३५ हजार सहित ट्रफी पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close