
पोखरा स्पोर्टस । स्याङजाको स्वरेकमा गण्डकी प्रदेशस्तरीय प्याराग्लाइडिङ प्रतियोगिता हुने भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश प्याराग्लाइडिङ संघको व्यवस्थापनमा उक्त प्रतियोगिता यहि असार १९ गते हुन लागेको हो ।
नवौं राष्ट्रिय खेलकुद सम्पन्न भए यता करिव साढे २ वर्षको अन्तरालमा स्वरेकस्थित बाबु एडभेन्चर प्याराग्लाइडिङ स्कुलको सहयोगमा प्रतियोगिता हुने गण्डकी प्रदेश प्याराग्लाइडिङ संघका अध्यक्ष बसन्तराज दवाडीले जानकारी दिए ।
प्रतियोगितामा गण्डकी प्रदेशका महिला तथा पुरुष खेलाडीहरु गरी २० जनाले ‘एक्युरेसी’तर्फ प्रतिस्पर्धा गर्नेछन् ।
कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक खेलाडी छनौट समेत गरिने छ ।
प्रतियोगितामा पहिलो दोस्रो र तेस्रो हुने महिला तथा पुरुष खेलाडीलाई क्रमश नगद रु ३०, २० र १० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्रदान गरिने प्रदेश प्याराग्लाइडिङ संघले जनाएको छ ।
