पोखरा महानगर खेलकुदले विविध खेलकुद संगै मार्शल आर्ट महोत्सव गर्दै

पोखरा स्पोर्टस । पोखरा महानगर खेलकुद विकास समितिले पोखरामा विविध खेलकुद कार्यक्रम संगै मार्शल आर्ट महोत्सव आयोजना गर्ने भएको छ ।

समितिले सोमबार एक पत्रकार सम्मेलन आयोजना गरी २०८०/०८१ को खेलकुद बजेट अनुसार उक्त कार्यक्रम गर्न लागिएको जनाएको हो । मार्शल आर्ट महोत्सव अन्तर्गत मार्शल आर्ट खेलका ८ विभिन्न खेलकुदहरुलाई समावेश गरिएको समितिले जनाएको छ ।

मार्शल आर्ट महोत्सव अन्तर्गत कराते, तेक्वान्दो, उसु, फुल कन्ट्याक्ट कराते, आइटिएफ तेक्वान्दो, जुडो, फेन्सिङ र हाप्किडोतर्फका खेलहरु हुनेछन् । हरेक खेलका दुई इभेन्ट र चार वटा तौलमा प्रतिस्पर्धा गर्न लागिएको खेलकुद विकास समितिका अध्यक्ष दिपक गोदारले बताए ।

त्यसै गरी कास्की जिल्ला बक्सिङ संघको समन्वयमा राष्ट्रिय बक्सिङ प्रतियोगिता, तेस्रो मेयर कप राष्ट्रिय साइक्लिङ प्रतियोगिता, राष्ट्रिय मुआथाई प्रतियोगिता, पोखरा राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिता, राष्ट्रिय फेन्सिङ प्रतियोगिता, पोखरा महानगर विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगिता,, १० किमि पुरुष तथा महिला सडक दौड प्रतियोगिता र विद्यालयस्तरीय हक्की प्रतियोगिता तय गरिएका छन् भने विद्यालय खेलकुद शिक्षक तालिम समेत सञ्चालन गरिनेछ ।

कार्यक्रम अन्तर्गत १० किमि पुरुष तथा महिला सडक दौड प्रतियोगिता यहि बैशाख १९ गते सञ्चालन हुनेछ । भने अन्य कार्यक्रमहरु बैशाख देखि जेठको दोस्रो साता सम्म सम्पन्न गरिने गरी समितिले योजना बनाएको छ ।

पत्रकार सम्मेलनमा पोखरा महानगरका मेयर घनराज आचार्यले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशको प्रतिनिधित्व गर्दै विजेता बन्न सफल पोखरा महानगरका २६३ जना खेलाडी तथा प्रशिक्षकहरुलाई नगदसहित सम्मान गरिसकेको जनाउँदै अब दशौंको तयारीका लागि पोखरा महानगर योजनावद्ध रुपमा अघि बढ्ने बताए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पोखराको गौरव बढाउने खेलकुद प्रतियोगिताहरुलाई सहयोगको निरन्तरता दिने गरी पोखरा महानगर अघि बढेको बताउँदै खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्ने महानगरको प्रमुख उद्धेश्य रहेको उल्लेख गरे ।

चालु आर्थिक वर्षमा लेखनाथ हाफ म्याराथनसहित ८ विभिन्न प्रतियोगिताहरु सम्पन्न गरिसकेको जनाउँदै मेयर आचार्यले पोखराको खेलकुद विकासका लागि पोखरा रंगशाला र अन्य पूर्वाद्धारहरु महानगर मातहत ल्याउन समेत पहल भइरहेको बताए । उनले भने–“मुलुकमा संघियता आयो तर खेलकुदमा अझै प्रभावकारी बन्न सकेको छैन । पोखरा रंगशाला हाम्रो मातहत वा प्रदेश मातहत ल्याउने प्रयासलाई हामीले अघि बढाएका छौं । त्यसमा यूवा तथा खेलकुद मन्त्रालय समेत सकरात्मक छ ।”

मेयर आचार्यले एक प्रश्नको जवाफमा चालु वर्षमा करिव ३ करोड खर्च भइसकेको जानकारी दिंदै आगामी वर्षका लागि नयाँ योजनाका साथ अघि बढ्न सबै खेल संस्थाहरुलाई प्रस्ताव माग गरी अघि बढ्ने बताए । उनले ट्रयाथलन, इन्डोरो, म्याराथन, आहा रारा पोखरा गोल्ड कपलगायत अन्य खेलकुद प्रतियोगिताहरुलाई क्यालेण्डरमा राखेर अघि बढाउने गरी आगामी वर्षका लागि खेलकुदमा बजेट बढ्ने प्रतिवद्धता जनाए ।

सो अवसरमा पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिब सुवास खड्काले समेत विभिन्न प्रतियोगिताहरुका बारेमा जानकारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close