
पोखरा स्पोर्टस । एसियाली यु–२० एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन गण्डकीका एथलेटिक्स खेलाडी बादल कार्कीसहित ४ खेलाडी र मुख्य प्रशिक्षक गरी ५ सदस्यीय नेपाली टोली सोमबार दुबई जाने भएको छ ।
बैशाख १२ देखि १५ गतेसम्म हुने उक्त प्रतियोगितामा ३ पुरुष र १ महिला गरी ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने भएका हुन् ।
पुरुष ८ सय र १ हजार ५ सय मिटर दौडमा बादल कार्कीले आफ्नो चुनौती प्रस्तुत गर्ने भएका छन् । उनी भर्खरै सम्पन्न १४ औं केन्द्रिय राष्ट्रपति रनिङ सिल्डमा दोहोरो स्वर्ण पदक बिजेता समेत हुन् ।
त्यसै गरी १ सय र २ सय मिटर दौडमा आदेशकुमार यादव र १ हजार ५ सय र ३ हजार मिटर दौडमा अजय विकले प्रतिस्पर्धा गर्ने छन् ।
महिला १ हजार ५ सय र ३ हजार मिटर दौडमा कल्पना बुढा सहभागी हुने छिन् । एसियाली यु–२० एथलेटिक्स च्याम्पियनसिपमा सहभागी खेलाडी राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा गत बिहीबार सम्पन्न १४ औं राष्ट्रपति रनिङ सिल्डका पदक विजेताहरु हुन् ।
प्रशिक्षक एथलेटिक्सकी मुख्य प्रशिक्षक कान्ती महतो रहेकी छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राखेपका सदस्य–सचिव टंकलाल घिसिङले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।
