
पोखरा स्पोर्टस । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले खेलाडीहरुलाई विदाई गर्दै खेलकुदबाट नै दक्ष जनशक्ती उत्पादन हुने बताएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीद्वारा आयोजित १३ औं केन्द्रियस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागि हुन जाने खेलाडीहरुलाई बिदाई गर्दै उनले सो कुरा बताएका हुन् ।

प्रदेश खेलकुद परिषद गण्डकीका संरक्षक समेत रहेका मुख्यमन्त्री अधिकारीले खेलाडीहरुलाई सबै खेलमा विजेता बन्न पूर्णसफलताको शुभकामना दिंदै भने–“गण्डकी प्रदेशको शान र सौगातका लागि विजयी हुनुपर्छ । यहाँहरुले खेल मैदानमा अनुशासित हुँदै नमुना बनेर गण्डकी प्रदेशको इज्जतका लागि समेत यहाँहरुले सफलता प्राप्त गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।” खेलाडीहरुलाई आफू भित्र रहेको अन्तर्निहित क्षमता प्रस्फुटन गर्दै प्रदेश र राष्ट्रको शान माथी उठाउन उच्च मनोबलका साथ प्रदर्शन गर्न उनले आग्रह समेत गरे ।
खेलकुद मानव जिवनका लागि महत्वपूर्ण पक्ष रहेको बताउँदै मुख्यमन्त्री अधिकारीले हजारौं अस्पताल खोल्नु भन्दा एक रंगशाला निर्माण हुनुपर्छ भन्ने विषयलाई आफूले प्रथमिकताका साथ उठाएको बताउँदै भने–“मान्छेलाई रोग लाग्नु दिनु हुँदैन । रोग लाग्न दिनु भन्दा अघि नै ‘प्रिभेन्सन’ आवश्यक छ । स्वस्थ्य नागरिकबाट नै उत्पादकत्व वृद्धि हुन्छ । अहिले गण्डकी प्रदेश सरकार सक्षम जनशक्ती उत्पदान गर्ने अभियानमा छ । त्यसका लागि खेलकुदको विकास पहिलो शर्त हो ।”
खेलाडीहरुलाई जिवनको पहिलो क्षणबाट नै अनुशासित हुँदै पूर्णनियमको पालना गर्दै एक आपसमा हार्दिकता साथ अघि बढ्न सुझाव समेत दिंदै मुख्यमन्त्री अधिकारीले भने–“जसरी खेल मैदानमा प्रतिस्पर्धा, रोमाञ्चक र उत्तेजना हुन्छ । हार र जित हुन्छ । तर खेल सकिनै वित्तिकै हार्दिकतापूर्वक हात मिलाएर हामी विदाई हुन्छौं । त्यसैले त्यहाँ अनुशासनको उच्च आदर्श स्थापित रहेको छ । त्यही अनुशासनले नै मानव जिवनलाई मार्गदर्शन गर्दछ ।” खेलकुदको त्यही उच्च आदर्श र अनुशासनलाई सबैले जिवनमा मार्गदर्शनको रुपमा लिएर अघि बढ्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा मुख्यमन्त्री अधिकारीले खेलाडीहरुलाई टिका लगाएर विदाई गरेका थिए भने प्रदेश खेलकुद परिषद गण्डकीको लोगो अंकित झण्डा हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ र प्रदेश खेलकुदका सदस्य सचिव श्रीधर शर्मा, परिषदका सदस्य केशव पाठकले आफ्ना भनाई राखेका थिए ।
सो अवसरमा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, प्रदेश खेलकुदका कार्यकारी सदस्य दिल बहादुर गुरुङ, जिल्ला खेलकुदका अध्यक्ष तोरण बहादुर बाँनियालगायको सहभागिता रहेको थियो ।
बैशाख ४ देखि ६ गते सम्म राष्ट्रिय खेलकुद परिषदको आयोजनामा सञ्चालन हुने १३ औं केन्द्रियस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा, छात्र–छात्रा भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो, उशु र करातेतर्फका प्रतिस्पर्धा हुनेछन् ।
प्रतियोगितामा गण्डकी प्रदेशकातर्फ बाट ९८ खेलाडीसहित प्रशिक्षक र टिम म्यानेजर गरी १ सय १५ जनाको सहभागिता रहने प्रदेश खेलकुदका कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिए ।
