
पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीले १९ औं एसियाली खेलकुदमा सहभागि हुन जान लागेका आर्चरी खेलाडी योगेन्द्र शेरचनलाई बिदाई गरेको छ ।
परिषदका बोर्ड सदस्य समेत रहेका योगेन्द्रलाई परिषदले शुभकामना सहित विदाई गरेको हो । परिषदका निभित्त सदस्य सचिव केशव पाठक, कार्यकारी सदस्य दिल बहादुर गुरुङ, सदस्यहरु गिरमान गुरुङ, निर्मला बराल, कार्यालय प्रमुख तोपलाल भुसालले उनलाई बिदाई गरेका थिए ।
चिनको हाङझाउमा सुरु भएको १९ औं एसियाली खेलकुद अन्तर्गत आर्चरी खेल यहि असोज १४ गते सुरु हुनेछ । योगेन्द्रले आर्चरीको कम्पाउण्डतर्फ सिंगल्स र मिक्स टिम इभेन्टमा सहभागिता जनाउने छन् । योगेन्द्रसहित नेपाली टोली असोज ११ गते काठमाण्डौबाट चिन प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
१९ औं एसियाली खेलकुदका लागि गत साउन १ गतेबाट ४ जना खेलाडीहरु बन्द प्रशिक्षणमा रहेका छन् । पोखरामा बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुमा योगेन्द्रसहित तिलक पुन मगर, इमायुङ राई र मञ्जु बजगाई रहेका छन् ।
नेपाली राष्ट्रिय टोली असोज ११ गते चिन प्रस्थान गर्ने तय भएको छ ।
