
पोखरा स्पोर्टस । पोखरा रंगशाला परिसरमा तेक्वान्दो तालिम हलको निर्माण सुरु गरिने भएको छ ।
कास्की जिल्ला तेक्वान्दो् संघले निर्माण गर्न लागेको उक्त तालिम हलको गत २०७९ असौज ८ गते राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले शिलन्यास गरेका थिए । शिलन्यास भएको झण्डै १८ महिना पछि भोली (बुधबार)बाट तालिम हलको निर्माण कार्य सुरु गर्न लागिएको हल निर्माण समितिका संयो्जक एवं गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङले जानकारी दिएका छन् ।
पोखरा रंगशालास्थित गेट नं ४ संगै सेमी कभर्डहलको दक्षिणतर्फको खाली स्थानमा राखेपको स्विकृतीमा हल निर्माण गर्न लागिएको हो । हल निर्माणका लागि २०६७ सालबाट कास्की तेक्वान्दोले अभियानको रुपमा अघि बढाए पनि विविध कारणले निर्माण कार्य सुरु हुन नसकेको संयोजक गुरुङले जानकारी दिए । उनले भने–“पहिला त फण्डकै कुरा हो । हामीले सोचे जस्तो फण्ड जम्मा गर्न सकेनौं । अर्को तर्फ कोभिडले समेत समस्या बनायो । राखेपबाट नक्सा स्विकृत गर्न समेत समय लाग्यो ।”
पहिलो चरणमा निर्माण समितिले ६५ लाख खर्च गर्न लागेको संयोजक गुरुङले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा हलको फ्रेमिङको कार्य हुनेछ भने दोस्रो चरणमा अन्य कार्य गरी हललाई पूर्णता दिइने छ । तालिम हलमा दुई वटा प्लेइङ एरिना, कार्यालय, शौचालय, चेन्जिङ रुम हुनेछन् ।
३० मिटर लम्वाई र १७ मिटर चौडाईमा निर्माण हुन लागेको तेक्वान्दो तालिम हलको निर्माणले गण्डकीमा खेलाडी उत्पादन संगै प्रतियोगिताहरु सञ्चालन हुन सहज हुने कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष कुमार गुरुङले बताए । निर्माण सम्पन्न गर्न झण्डै १ करोड भन्दा वढि खर्च हुने जनाइएको छ ।
