
पोखरा स्पोर्टस । लामो समय देखि करिव करिव ठप्प रहेको गण्डकीको पौडी खेल पछिल्लो क्रममा भने गति लिन थालेको छ ।
गण्डकी प्रदेश पौडी संघ गठन भए संगै यसले गति लिन थालेको हो । प्रदेश खेलकुद परिषदले पोखरामा सम्भावना बोकेको पौडी खेल विकासका लागि बजेट समेत विनियोजन गरी प्रतियोगिता र प्रशिक्षण संघमार्फत गर्न सुरु गरेको छ । परिषदले सम्भवना बोकेको तर पछि परेका खेलहरुलाई माथी उठाउन नयाँ योजनाका साथ अघि बढ्दा संघले समेत उत्तिकै साथ पाएको गण्डकी पौडी संघका अध्यक्ष आनन्द कुंवरले बताएका छन् ।
चितवनमा सुरु भएको बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगितामा संघले परिषदको सहयोगमा विभिन्न ११ इभेन्टमा खेलाडीहरु तयारी गरी आइतबार त्यसतर्फ प्रस्थान गरेको छ ।
प्रस्थान गर्नु अघि पोखरा स्पोर्टस संग कुरा गर्दै स्वयंसेवी प्रशिक्षक तथा पूर्व राष्ट्रिय खेलाडी कुंवरले परिषदले सुरु गरेको यो अभियान निकै महत्वपूर्ण रहेको बताए । उनले भने–“हामीले पहिलो पटक ११ जना खेलाडीहरुसहित अन्य प्रदेशलाई चुनौती पस्किने छौं । पोखराको पौडी पटक–पटक ठगिएको छ । तर परिषदले हामीलाई दिएको उर्जाले खेलाडीहरुले यो प्रतियोगितामा उत्साहजनक नतिजा ल्याउनेमा हामी विश्वस्त छौं ।”
पोखरा रंगशालामा समेत सरकारले पौडी पोखरी बनाउने योजना ल्याएको भए पनि हाल त्यसको डिपिआर भने दराजमा थन्किएको अध्यक्ष कुंवरले बताए । उनले भने–“पोखरा निकै सम्भावना भएको ठाउँ हो । तर केही स्वार्थ बाझिएका कारण हामी वञ्चित छौं भएका छौं भने पौडीको विकासमा पछि परेका छौं । तर अब गण्डकीको पौडी जागेको छ । अब हामी नतिजा दिने गरी परिषदको अभियानमा अघि बढनेछौं ।”
चितवनबाट फर्किए लगतै परिषदकै सहयोगमा अर्को महिना बैशाखबाट समेत प्रशिक्षण र प्रतियोगितालाई निरन्तरता दिने उनले बताए । उनले भने–“दशौं राष्ट्रिय प्रतियोगिताको तयारी संगै मित्र राष्ट्र भारतमा समेत हामीले खेलाडीहरुलाई प्रतियोगितामा सहभागिता गराउने योजनामा छौं । कुराकानी धेरै अघि बढेको छ । हामी वैशाखको तयारी र भारतका विभिन्न राज्यमा खेलाडीहरुलाई लिएर जानेछौं ।”
बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगितामा पौडी खेल सोमबार र मंगलबार आयोजना हुँदैछ ।
