
पोखरा स्पोर्टस । नेपाली अग्रज खेलाडीहरूको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्च २४ वर्ष पुरा गरी २५ वर्षमा पुग्ने भए संगै मञ्चले रजत वर्ष महोत्सव गरी आफ्ना कार्यक्रम तय गरेको छ ।
मञ्चले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा रजतवर्षमा आयोजना गरिने विविध कार्यक्रम संगै खेलकुदमा योगदान पुर्याउने एक जनालाई प्रदान गर्ने गरी राष्ट्रिय खेलकुद पुरस्कार स्थापना गर्ने जनाएको हो । मञ्चको आगामी बैशाख ८ गते आफ्नो स्थापना दिन संगै रजत वर्ष महोत्सव गरी विभिन्न कार्यक्रमहरुको घोषणा गरेको छ भने अध्यक्ष दिल बहादुर गुरूङको संयोजकत्वमा ३५१ सदस्यिय मुल आयोजक समिति गठन गरेको छ ।
मञ्चका अध्यक्ष गुरूङले रजत वर्ष नेपाली खेलकुद इतिहासमा महत्वपूर्ण क्षणको रुपमा लिएको जनाउँदै मञ्च २५ वर्षमा पुगे संगै नेपाली खेलकुदमा योगदान पुर्याउने एकजनालाई नगद १ लाखसहित मेडल तथा सम्मानपत्र प्रदान गर्ने जनाएका छन् । यो पुरस्कार हरेक दुई वर्षमा एकजनालाई दिने गरी स्थापना गरिएको जनाउँदै यो वर्ष रजत महोत्सवको समापन कार्यक्रममा प्रदान गरिने जनाए ।
मञ्चका अनुसार रजत वर्ष महोत्सवका अवसरमा मासिक/साप्ताहिक दौडलाई निरन्तरता संगै आमा समुह दौड, पूर्नमिलन कार्यक्रम, अन्तर मावि वक्तित्वकला, चित्रकला प्रतियोगिता, दृष्टिविहिन यू–१२ दौड प्रतियोगिता, पत्रकार दौड प्रतियोगिता, जनप्रतिनिधी दौड, चालक दौड तथा ६० वर्ष माथि सुपर भेट्रान्स दौड प्रतियोगितालाई समावेश गरिएको छ भने गण्डकी प्रदेशको परम्परागत तथा मौलिक खेलको रुपमा रहेको ‘ठेलो खेल प्रतियोगिता’ समेत रजत वर्ष महोत्सवका अवसरमा आयोजना गरिने छ ।
रजत वर्ष महोत्सवकै अवसरमा प्रकाशन गरिने स्मारिका प्रकाशनका लागि द्वितिय उपाध्यक्ष कृष्ण तिमिल्सिनाको संयोजकत्वमा समिति गठन गरिएको छ ।
मञ्चले आयोजना गर्दै आएको नेपालकै जेठो म्याराथन पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन सहयोग गर्नेहरु प्रति आभार व्यक्त गरेको छ । मञ्चले २० औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन आगामी फागुन २ गते आयोजना हुने जनाउँदै खेलाडी दर्ता प्रक्रिया सुरू भएको जनाएको छ ।
