
पोखरा स्पोर्टस । मदन भण्डारी स्पोर्टस एकेडेमीले मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशको उपाधि विजेता यू–१९ महिला क्रिकेट टोलीलाई जनही तिन हजार सहित सम्मान गरेको छ ।

एकेडेमीका केन्द्रिय उपाध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य राजेश कुमार गुरुङले खेलाडीलाई हौसला प्रदान गर्न नगद सहित सम्मान गरेका हुन् । उनले सो अवसरमा युवा टोलीले गरेको प्रदर्शनले निकै गौरव लागेको बताउँदै विजेता खेलाडीलाई सम्मान गर्न सबैलाई आग्रह समेत गरे ।
कैलालीको धनगढीमा हालै सम्पन्न भएको सुदुरपश्चिम मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै गण्डकी प्रदेशले उपाधि जितेको हो । गण्डकी प्रदेश यु—१९ महिला क्रिकेट टोलीमा अन्जली बिस्वकर्मा (उ.की), सिमाना के.सी., ज्योत्स्नीका मरासिनी, सोनिया थापा, आकृति तिवारी, कुसुम गोदार, अरबिना अधिकारी, निरु जि.टि., सेरिना थापा मगर, मनिषा उपाध्याय (क), सिर्जना पौडेल, जेनिशा खत्री, आङ पेमु ल्याम्बु शेर्पा र प्रीती पराजुली रहेका छन् ।
उक्त टोलीको टिम प्रशिक्षकमा रिजन प्रजु, सहायक प्रशिक्षक गोविन प्रधान र टिम व्यबस्थापकमा एलिशा लामिछाने रहेका थिए ।
उक्त कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, निर्देशक कृष्ण तिमिल्सिना, लेखा प्रमुख डिवी नेपाली, गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवन्सन प्रजु लगायतको सहभागिता रहेको थियो ।
