
पोखरा स्पोर्टस । कास्की टेनिसको पहलमा चितवनको एक टेनिस एकेडेमीलाई सहयोग हस्तान्तरण गरिएको छ ।
चितवनस्थित प्रिमियर टेनिस एकेडेमीलाई २६ हजार २ सय ५० रुपैयाँ बराबरको सामाग्री संचालक कुमार जङ्ग क्षेत्रीलाई हस्तान्तरण गरिएको हो । चितवनलाई समेत टेनिस खेलको हव बनाउन र खेलाडी उत्पादनमा सहयोग पुग्ने हेतुले एकेडेमीलाई केही खेल सामाग्री हस्तान्तरण गरिएको कास्की टेनिसका संस्थापक अध्यक्ष समेत रहेका बिनोद कायस्थले जनाएका छन् ।
चितवन नेपालकै मध्यविन्दुमा पर्ने जिल्ला मात्रै नभएर यतिबेला पर्यटनको हव समेत बन्दै गएकोले टेनिस खेलको विकासमा सहकार्य गरेको कायस्थले बताए । उनले भने–“हामी चितवन, बुटवल र पोखरालाई टेनिसको राउण्ड ट्रिपको रुपमा विकसित गर्ने योजनामा छौं, उनले भने–“हाम्रो दिर्घकालिन योजनाले यि तीनै स्थान भविष्यमा खेलाडी उत्पादनको मुख्य थलो बन्नेछन् ।”
टेनिस खेल बिकास र बिस्तारको लागि सहयोग हस्तान्तरण कार्यक्रममा कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक गुरुङ ,सचिब नवीन श्रेष्ठ, कार्यसमिति सदस्य माधब भण्डारी ,सल्लाहकार गोपी भट्टराई, अग्रज टेनिस खेलाडी धरम सिं लामिछाने लगायतको सहभागिता रहेको थियो ।
