
पोखरा स्पोर्टस । प्रथम पारा राष्ट्रिय खेलकुदको मिति तोक्न यूवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)ले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना संगै प्रथम पारा राष्ट्रिय खेलकुदको मिति निर्धारण गर्न मन्त्रालयलाई आग्रह गरेको हो । परिषदले पारा खेलकुदको विकास तथा देशले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्राप्त गरेको उपलब्धी समेतलाई अझ थप मजबुत बनाउन पारा राष्ट्रिय खेलकुद आयोजना गर्नुपर्ने जनाएको हो ।
राखेपले मन्त्रालयलाई अनुरोध गर्दै भनेको छ–“वृहद राष्ट्रिय खेलकुद प्रतियोगिता पश्चात् फरक क्षमता भएका खेलाडीहरुको पारा खेलकुद आयोजना गरिने प्रचलन पनि रहेकोले प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता–०८१ समेत अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका दिन २०८१ साल मंसीर १८ देखि २१ गतेसम्म कर्णाली प्रदेशमै आयोजना गर्न मन्त्रालयलाई आग्रह गर्छौं ।”
वृहत राष्ट्रिय खेलकुदको नवौं संस्करण २०७९ साल असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा भए पनि गण्डकीमा पारा राष्ट्रिय प्रतियोगिता भने हुन सकेको थिएन । यद्यपी प्रदेश खेलकुद परिषद गण्डकीले वार्षिकरुपमा बजेट बिनियोजन गरी तीन वर्ष देखि निरन्तर पारा खेलकुद प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।
