किसुनजी स्मृति हाफ म्याराथनमा विजय र पुष्पा पहिलो

पोखरा स्पोर्टस । विजय रावत र पुष्पा भण्डारी तेश्रो किसुन जी स्मृति राष्ट्रिय खुला हाफ म्याराथनमा शनिबार पहिलो भएका छन् । विजय पुरुष तथा पुष्पा महिलामा पहिलो भएका हुन् ।

विजयले निर्धारित दूरी १ घण्टा ७ मिनेट ५६ सेकेन्डमा पूरा गरे । १३ औं सागको म्याराथनका स्वर्ण विजेता किरणसिंह बोगटी १ घण्टा ८ मिनेट २५ सेकेन्ड समयमा दोश्रो तथा हङकङमा भएको तेश्रो एसियाली युथ (यु–२०) एथलेटिक्स च्याम्पियनसिपको ३ हजार मिटर दौडका स्वर्ण विजेता अजितकुमार यादव १ घण्टा ११ मिनेट ३३ सेकेन्डमा तेश्रो भए ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेश समितिद्वारा आयोजित दौडमा पुष्पाले निर्धारित दूरी १ घण्टा २३ मिनेट ०५ सेकेन्डमा तय गरिन् । दोश्रो भएकी राममाया बुढाले १ घण्टा ३३ मिनेट १२ सेकेन्ड समय निकालिन् । १ घण्टा ३५ मिनेट ४४ सेकेन्डमा शुशान कार्की तेश्रो बनिन् । पुरुष÷महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गरे ।

पुरुष ५ किलोमिटर दौडमा धनुवा नन्द १८ मिनेट ०९.१० सेकेन्ड समयसाथ पहिलो स्थानमा रहे । विकेश घिमिरे (१८ मिनेट ३९.२६ सेकेन्ड) दोश्रो तथा नकुल घर्ती (१८ मिनेट ४३.५६ सेकेन्ड) तेश्रो भए । सो स्पर्धाको महिलामा निर्धारित दूरी २६ मिनेट ०७.३० सेकेन्डमा सकाउदै सर्मिला बस्नेत पहिलो भइन् । २६ मिनेट ०९.३४ सेकेन्डमा सुस्मु डोल्मु तामाङ दोश्रो तथा ३२ मिनेट ३४.३६ सेकेन्डमा दिविका गुरुङ तेश्रो भए । दुवै समूहका विजेताले १५ हजार, उपविजेताले १० हजार र तेश्रोले ५ हजारका दरले नगद पुरस्कार पाए ।

विजेतालाई पूर्व मन्त्री धनराज गुरुङ, पूर्व प्रदेश सांसद् राधा घले, आयोजक समितिका अध्यक्ष दीपक गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सो असवरमा नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय कार्यसमितिको विभिन्न पदमा मनोनितहरुलाई पत्र पनि हस्तान्तरण गरिएको थियो । नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचनको उपस्थितिमा नेपाल कांग्रेसका उप सभापति समेत रहेका पूर्व मन्त्री धनराज गुरुङले दीपक गुरुङलाई महासचिव, राजुविक्रम थापालाई सचिव, दामोदर अर्याललाई प्रवक्ता तथा राजु ताम्राकार, दीपक थापा, तुलसी थापा र जग्जीत केसीलाई सदस्यमा मनोनयन गरिएको पत्र हस्तान्तरण गरिएको थियो ।

सुदिप डंगोललाई नेपाल लोकतान्त्रिक खेलकुद संघ, भक्तपुर जिल्ला समितिको अध्यक्षमा मनोनयन गरिएको पत्र प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close