
पोखरा स्पोर्टस । एनआरएस स्पोर्टस फाउन्डेसनले इनड्राइभको सहकार्यमा नेपालमा दौड संस्कृतिलाई प्रवर्द्धन गर्न नेपालका विभिन्न १० शहरहरुमा दौड प्रतियोगिताहरु आयोजना गर्ने भएको छ ।
लामो दूरीका धावकलाई अन्तर्राष्ट्रिय दौड प्रतियोगितामा सहभागिता जनाउने वातावरण तयार पार्ने उद्धेश्यका साथ उक्त प्रतियोगिताको तयारी गर्ने एनआरएसले जनाएको हो । सो बारे जानकारी दिंदै संस्थका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले एनआरएस नेपालमा दौड संस्कृतिको प्रवर्द्धन गर्न उक्त योजना अघि सारेको बताए ।
ति प्रतियोगिताहरु काठमाडौंसँगै पाटन, भक्तपुर, थिमि, कीर्तिपुर, हेटौंडा, पोखरा र बुटवल लगायतका शहरमा सञ्चालन हुने अध्यक्ष श्रेष्ठले जनाएका छन् । प्रतियोगिताले नयाँ प्रतिभाको खोजी गर्ने संगै भविष्यमा अन्तर्राष्ट्रियस्तरमा पदक जित्ने खेलाडी उत्पदानका लागि प्लेटफर्म तयार गर्नु रहेको बताए । उनले भने–“हाम्रो उद्धेश्य नै व्यवस्थित प्रशिक्षण र प्रतियोगिता सञ्चालन गर्ने संगै स्थानीय प्रतिभाको खोजी गर्दै विश्वस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने क्षमतावान खेलाडी उत्पादन गर्नु हो ।”
भावी दिनमा अन्य शहरमा समेत यस्ता प्रतियोगिताहरु सञ्चालन गरिने बताउँदै इनड्राइभ संगको सहकार्यले नेपाली खेलकुदमा नयाँ आयाम थपिने अध्यक्ष श्रेष्ठले जनाएका छन् ।
यस संगै एनआरएसले इनड्राइभको सहकार्यमा यहि असार २६ गतेबाट (जुलाई १२) १२ वर्षमुनिका खेलाडीलाई प्रशिक्षण प्रदान गर्ने समेत भएको छ । सहभागिहरुलाई दौड संगै उनीहरुलाई खेल विज्ञान सम्वन्धि ज्ञान दिइने छ ।
यहि अक्टोबरमा आयोजना हुने काठमाडौं म्याराथनमा समेत इनड्राइभले सहयोग र सहकार्य गर्ने भएको छ ।
