
पोखरा स्पोर्टस । गण्डकी प्रदेशमा म्याग्दी जिल्ला उत्कृष्ट भलिबल संघ हुन सफल भएको छ । गण्डकी प्रदेश भलिबल संघको बुधबार सम्पन्न साधारणसभामा म्याग्दी जिल्ला भलिबल संघलाई उत्कृष्ट जिल्लाको रुपमा सम्मान गरिएको हो । अन्य प्रतिस्पर्धी १० जिल्लालाई उछिन्दै उत्कृष्ट भएको जिल्ला भलिबल संघ म्याग्दीलाई साधारणसभामा सम्मानपत्र प्रदान गरिएको छ ।
तेजेन्द्र बाँनियाको नेतृत्वमा रहेको जिल्ला भलिबल संघ म्याग्दी पछिल्लो समय ४६ लाख भन्दा बढिको रकम संकलन गरी अक्षयकोष स्थापना गर्न भूमिका खेलेपछि यसको साख चुलिएको छ । अध्यक्ष बाँनियाले आफ्नो बेलायत भ्रमणको समय म्याग्देलीलगायत अन्य संघ संस्थाबाट ४५ लाख रकम संकलन गर्न सफल भएका थिए ।

गण्डकी प्रदेशको म्याग्दी जिल्ला भलिबल संघ राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका भलिबल खेलाडी उत्पादन हुने जिल्लाको रुपमा समेत विगत लामो समय देखि आफूलाई स्थापित गर्न सफल छ । जिल्लाको आफ्नै व्यवस्थित कार्यालय समेत रहेको म्याग्दी जिल्ला भलिबल संघले नर्वौ राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबल सम्पन्न गर्न समेत अहम भूमिका खेलेको थियो ।
जिल्लाका सबै पालिकामा भलिबल संघ गठन गर्ने देखि लिएर पालिकास्तरिय भलिबल प्रतियोगिता, जिल्लास्तरिय महिला–पुरुष भलिबल प्रतियोगितालगायत खेलाडीहरुलाई नियमित प्रशिक्षण समेत दिंदै आएको छ ।
करिव ४६ लाख ५१ हजारको अक्षयकोषको स्थापना गरेको म्याग्दी जिल्ला भलिबल संघ यति बेला भने आफ्नै खेलमैदानको खोजीमा छ ।
सम्मान पछि पोखरा स्पोर्टस् संग कुरा गर्दै संघका अध्यक्ष बाँनियाले यसको श्रेय सम्पूर्ण म्याग्देलीहरुलाई दिन चाहन्छन् । उनले भने–“यो म्याग्दी भलिबल संघको मात्रै सम्मान होइन । सम्पूर्ण जिल्लाका भलिबल संग निकटता र मायाँ जोड्नेहरुको हो । खेलाडीहरुको हो । अभिभावकहरुको हो । जो आफू एक छाक खान्छन् तर भलिबललाई मुटु संग गाँस्छन् ।”
सम्मान गर्ने प्रदेश भलिबल संघलाई समेत आभार व्यक्त गर्दै अध्यक्ष बाँनियाले नेपालकै उत्कृष्ट जिल्ला बनाउन यो सम्मानले अझै उत्प्रेरणा जगाएको बताउँदै भने–“म्याग्देलीहरुको प्रवाशी नेपाली संस्था ‘मोना यूके’ परिवारलाई म यो अवसरमा सम्झन चाहन्छु । जसका कारण नेपाली भलिबलको भविष्यमा म्याग्दी जिल्लाले एक सफल इतिहास कोर्ने बाटोमा हिंडेको छ ।”
सम्मानले आफ्नो टिमलाई म्याग्दी भलिबल संघको आफ्नै भलिबल खेल मैदान निर्माणको योजना सफल हुने विश्वास व्यक्त गर्दै अध्यक्ष बाँनियाले यो कार्यमा हातेमालो गर्न सबै संग आग्रह समेत गरे ।
