
पोखरा स्पोर्टस । विश्व रक्तदाता दिवशका अवसरमा जिल्ला खेलकुद विकास समिती कास्कीको आयोजनामा सोमबार पोखरा रंगशालामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

गण्डकी प्रदेश यूवा तथा खेलकुद मन्त्रालयको सहयोग तथा राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद परिषदको समन्वयमा भएको उक्त रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेका हुन । यस अघि रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै पोखरा महानगर पालिकाका प्रमुख मान बहादर जिसीले कोभिड १९ महामारीको विषम परिस्थितीमा समेत रक्तदान कार्यक्रम आयोजना गर्नु महत्वपूर्ण रहेको बताए ।
सो अवसरमा प्रमुख जिसीले कोभिड १९ विरुद्ध जिल्ला खेलकुदले सचेतना कार्यक्रम सँगै महामारीको पिडामा रहेका खेलाडीहरुलाई खाद्यान्न सामाग्री वितरण, वातावरण संरक्षणका लागि वृक्षारोपण तथा सरसफाई कार्यक्रम गर्नु प्रशंसा योग्य रहेको बताए ।

कार्यक्रम माथी प्रकाश पार्दै जिल्ला खेलकुदका अध्यक्ष तोरण बहादुर बानियाँले खेलकुद विकासका लागि सबैलाई समेटेर अघि बढ्नुको विकल्प नरहेको बताए । आगामी दिनमा समेत यस प्रकारका कार्यहरुलाई अगाडी बढाउने प्रतिवद्धता व्यक्त गर्दै अध्यक्ष बानियाँले सहभागीहरु प्रती आभार व्यक्त गरे । उनले कोभिड विरुद्धको अभियान सँगै कास्कीको खेलकुद विकासका लागि सवैको साथ र सहयोगका लागि समेत आग्रह गरे ।

कार्यक्रममा यूवा तथा खेलकुद मन्त्रालयका सचिब बिनोद बहादुर बानियाँ, प्रदेश खेलकुद परिषदका सदस्य सचिब तेज बहादुर गुरुङ, जिल्ला खेलकुदका उपाध्यक्ष एवम कार्यक्रमका संयोजक महेन्द्र गुरुङ, सचिब भिम पराजुली, कोषाध्यक्ष कन्चन थापा लगायतले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।
मन्त्री गुरुङले वितरण गरे खाद्यान्न तथा स्वास्थ्य सामाग्री
गण्डकी प्रदेश सरकारका विना विभागिय मन्त्री राजिव गुरुङ (दिपक मनाङे)ले कोभिड १९ महामारीका कारण समस्यामा रहेका पारा खेलाडी र अन्य विभिन्न खेलका खेलाडीहरुलाई राहत वितरण गरेका छन ।

कास्की जिल्ला खेलकुद विकास समितीको तिन दिने अभियान अन्तर्गत आयोजित खाद्यान्न वितरण कार्यक्रममा मन्त्री गुरुङले ६० जना खेलाडीलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरेका हुन ।

जिल्ला खेलकुदका अध्यक्ष तोरण बहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिब तेज बहादुर गुरुङले जिल्ला खेलकुदले गरेको कार्यको प्रशंसा गर्दै महामारीको विषम परिस्थितीमा समस्यामा रहेका खेलाडीलाई ठूलो राहत प्राप्त हुने विश्वास व्यक्त गरे ।
जिल्ला खेलकुद विकास समिती कास्कीले तिन दिने अभियान अन्तर्गत मंगलबार पोखरा रंगशालाको सरसफाई सँगै वृक्षारोपण कार्यक्रम गर्ने भएको वृक्षारोपण कार्यक्रमका संयोजक केशव बहादुर थापाले पोखरा स्पोर्टसलाई बताए ।
