
केशब पाठक,
पोखरा, ४ चैत्र । नागरिक उड्ययन प्राधिकरणले पोखराको सराङकोट बाट उडन प्याराग्लाइडिङको सोलो फ्लाइट बन्द गर्दा ८ औं राष्ट्रिय र १३ औं दक्षिण एशियाली खेलकुद (साग) को तयारीमा रहेका खेलाडीहरु प्रभावित बनेका छन ।
यहि चैत्रको तेश्रो साता बाट शुरु हुने ८ औं राष्ट्रिय खेलकुद अन्र्तगत पोखरामा प्याराग्लाइडिङको खेल हुँदैछ । तर खेलाडीहरु प्रशिक्षण गर्न नपाएर अलपत्र अवस्थामा बसेको नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष एवम प्याराग्लाइडिङका प्रमुख प्रशिक्षक योगेश भट्टराईले बताए । “हामी दोधारमा परेका छौं, दुई साता भन्दा बढी भयो हामी आकाश तिर हेरेर दिन बिताउनु बाहेक केही हुन सकेको छैन” उनले भने–“एशियाली खेलकुदमा पदक ल्याएर नेपालको शिर उच्चो राख्ने खेलकुद प्याराग्लाइडिङको सोलो फ्लाइट रोकेर राज्यले के गर्न खोजेको बुझ्न सकिएन ।”
प्याराग्लाइडिङ लाई खेलकुदको रुपमा नबुझी ब्यवसायको रुपमा मात्रै बुझेकोले यो समस्या आएको अध्यक्ष भट्टराईले बताए । अहिले खेलाडी प्रशिक्षणमा सराङकोट पुग्दा धरपकड शुरु गरेको छ । धेरै सरकारी निकायहरुले प्याराग्लाइडिङ खेल पनि हो यसले नेपालको शाख जोगाएको थियो भन्ने बुझनै नसकेको अध्यक्ष भट्टराईले बताए ।
विश्वको १० औं स्थानमा पर्ने पोखराको प्याराग्लाइडिङको सोलो फ्लाइट हचुवाको भरमा बन्द गर्दा खेलाडीलाई समस्या उत्पन्न भएको नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा) का महासचिब शैलेन्द्र राउतले बताए । “८ औं राष्ट्रिय खेलकुदमा पोखरामा प्याराग्लाइडिङ खेलको तयारी गर्नुपर्ने छ तर अहिले बन्द छ” उनले भने–“राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलोम्पिक कमिटीले पनि यस बारे सोधिरहेको छ तर समाधान निस्केको छैन ।”
पोखरामा केही दिन अघि अनाधिकृत रुपमा रसियन च्याम्पियनशिपका नाममा प्रतियोगिता आयोजना गरिएको थियो जसमा सहभागीहुने केही खेलाडी घाइते भएका थिए भने दुई जनाको मृत्यू समेत भएको थियो । तर उक्त प्रतियोगिता आयोजना गर्न नेपालको कुनै निकाय बाट इजाजत लिइएको थिइएन न त कसैलाई जानकारी नै थियो । उनीहरुले पोखराको एक प्याराग्लाइडिङ कम्पनी मार्फत प्रतिव्यक्ती रकम नागरिक उड्ययनलाई बुझाएर उडेका थिए ।
नेपालमा एशियाली पदक जिते पछि खेलाडीको संख्या ह्वात्तै बढेको एशियाली पदक बिजेता खेलाडी बिशाल थापाले बताए । “अहिले पनि पुराना र नयाँ गरेर १३० जना खेलाडी दक्षिण एशियाली र ८ औं राष्ट्रियको तयारीमा थिए तर दुई हप्ता भन्दा बढी भयो उड्नै पाएका छैनौ” उनले भने–“अहिले प्रशिक्षणका लागि ठिक मौसम पनि छ यहि बेला प्रशिक्षण गर्न नपाए कहिले गर्ने ?” उनले पनि सबैको मानसिकता प्याराग्लायडिङलाई खेल भन्दा पनि ब्यवसायको रुपमा समस्या आएको बताए । उनले जोड दिंदै भने–“प्याराग्लाइडिङ पहिला खेल हो अनि मात्रै ब्यवसाय अब मानसिकतामा परिवर्तन आउन जरुरी छ ।”
यता (ना) का उपाध्यक्ष कृष्ण भण्डारीले सोलो फ्लाइटका लागि बन्द गर्नु पर्ने अवस्थानै नआएको बताए । उनले बन्द गरिनु भन्दा पनि समस्याको समाधान गरिनु पर्ने कुरा उल्लेख गर्दै सरकारी निकाय बाट पनि नियमन आवश्यक रहने कुरा औंल्याए । उपाध्यक्ष भण्डारीले सोलो फ्लाइटका लागि कुन ठाउँ बाट उडान भर्ने र कहाँ अवतरण गर्ने भन्ने सहि स्थानको खोजी समेत गरिनु पर्ने बताए ।
तर यता नागरिक उडययन प्राधिकरणका उपमहानिर्देशक राजन पोख्रेलले सोलो फ्लाइट संधैका लागि बन्द गर्ने कुनै सोच नभएको बताउँदै छड्के बाटो बाट केहीले अनाधिकृत रुपमा प्रतियोगिता आयोजना गर्दा यो समस्या उत्पन्न भएको बताए । “हामीले नेपाली खेलाडीमा परेको समस्याका बारेमा राम्रो संग बुझेका छौं” उनले भने–“स्थानिय स्तर संग यस बारे अझै थप छलफल गरि केही दिन भित्रै समस्याको समाधान गर्छौ ।” उनले केही दिन प्रभावित भए पनि सबै पक्षलाई अझै जवाफदेही तरिकाले अगाडी बढाउन चाहेको बताउदै भने–“अब कोही गलत बाटो बाट आएमा त्यसलाई निरुत्साहित पार्नेछौं ।”
