
पोखरा स्पोर्टस । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अध्यक्ष ग्रेग बारक्लेले आफ्नो नेपालको दोस्रो भ्रमण पोखराका लागि मात्रै हुने बताएका छन् ।
गण्डकी प्रदेश क्रिकेट संघका सचिव सुमनराज कार्की संगको छोटो भेटघाटमा अध्यक्ष ग्रेग बारक्लेले उक्त कुरा बताएका हुन् । बुधबार भेटको समय पाएका सचिव कार्कीले एक पटक पोखरा भ्रमणका लागि आग्रह गरेको पोखरा स्पोर्टसलाई बताए ।
“मैलै उहाँलाई पोखरा भ्रमणमा आउन आग्रह गरे” सचिव कार्कीले भने–“पोखरा भन्ने वित्तिकै उहाँले झट्ट जवाफ दिंदै भन्नुभयो मैले पोखराको बारेमा धेरै सुनेको छु । मेरो एक पटक पोखरा पुग्ने चाहना छ ।”
नेपालको भ्रमणमा अति व्यस्त रहेका अध्यक्ष ग्रेग बारक्लेले यो पटक पोखरा पुग्न सम्भव नभए पनि तीन वर्ष पछि आफ्नो दोस्रो पटकको नेपाल भ्रमण पोखराका लागि हुने कार्की संगको भेटमा बताएका छन् ।
भेटका अवसरमा सचिव कार्कीले पोखरा क्रिकेट खेल मैदान अंकित मायाँको चिनो हस्तान्तरण गरेका थिए । सचिव कार्कीले अध्यक्ष ग्रेग बारक्लेले लाई पोखरा क्रिकेट रंगशालाको स्त्तरोन्नती लगायतका विषयमा छोटो जानकारी गराएको बताए ।
नेपाल भ्रमणमा रहेका आइसिसी अध्यक्ष ग्रेग बारक्लेले आफ्नो भ्रमण पुरा गरी आज स्वदेश फर्किएका छन् । नेपाल भ्रमणको क्रममा उनले प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’, यूवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ, सदस्य सचिव टंकलाल घिसिङलगायत संग भेट गरी नेपाली क्रिकेट खेलको विकासका बारेमा छलफल गरेका थिए भने टियू र मुलपानी क्रिकेट खेल मैदानको अवलोकन गरेका थिए ।
