
पोखरा स्पोर्टस । ‘पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ वि.सं. २०७४ सालदेखि आरम्भ गरिएको विश्वकै चर्चित ‘तेस्रो अन्नपूर्ण म्याराथन/अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव–२०८०’ को तयारी अन्तिम चरणमा पुगेको छ ।
सो बारे जानकारी दिन आयोजक अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले एक पत्रकार सम्मेलन गरी तेश्रो अन्नपूर्ण म्याराथन/अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव–२०८० को तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । अन्नपूर्ण आधार शिविरको पर्यटन पूर्वाधार निर्माण गरी पर्यटन प्रवर्द्धन गर्न पर्यटन महोत्सव र अन्नपूर्ण म्याराथन गर्दै आएको बताउँदै संयोजक ललित गुरुङले गत वर्षहरुमा प्रतिकूल परिस्थितिका कारण कोभिडका कारण कार्यक्रम स्थगन भए पनि यस वर्ष पूर्वनिर्धारित समयानुसार नै कार्यक्रमलाई निरन्तरता दिइएको बताए ।
विशेषतः सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमानी राखेको सन्दर्भमा उक्त दिनलाई “अन्नपूर्ण आरोहण दिवस” मनाउने गरिन्छ । सोही दिनको सम्झनामा अन्नपूर्ण म्याराथन हुने भएकाले यसको छुट्टै ऐतिहासिक गरिमा रहेको संयोजक गुरुङले बताए ।
विविध साँस्कृतिक कार्यक्रमसहित यहि जेठ १७ देखि २० गते सम्म आयोजना हुने म्याराथन संगै महोत्सवका बारेमा जानकारी दिंदै संयोजक गुरुङले बिहिबार सम्ममा म्याराथनतर्फ ४ विदेशीसहित २५ जनाले नाम दर्ता गराएका छन् ।
महिला तथा पुरुष दुबैतर्फका लागि हुने म्याराथन पुरुष तर्फ पहिलो, दोश्रो र तेश्रोहुनेले क्रमश नगद रु १ लाख ५० हजार, १ लाख र ७५ हजार प्राप्त गर्नेछन् । त्यसै गरी महिलातर्फका विजेताले ७५ हजार, ५० हजार र २५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । पुरुषतर्फ दर्ता शुल्क ७ हजार र महिलातर्फ ५ हजार तोकिएको छ ।
महोत्सवका थप आकर्षणहरू
विश्वकै आठ हजारभन्दा अग्लो हिमाल आरोहणको इतिहासमा पहिलो हिमाल आरोहणको सुरुवात गरिएको अन्नपूर्ण प्रथम हिमालको फेदीबाट आरम्भ हुने तेस्रो
संस्करणको अन्नपूर्ण म्याराथन सहित गर्न लागिएको महोत्सव,अन्नपूर्ण पत्रकारिता पुरस्कार वितरण समारोह,
हर्स राइडिङ गरी घान्द्रुक गाउँ घुम्न सकिने र गाउँबाट मनोरम दृश्यावलोकन गर्न सकिने,
परम्परागत गुरुङ संस्कार र संस्कृतिको प्रत्यक्ष अवलोकन कक्ष,
झाँक्री प्रदर्शन,
घैंटो फुटाउने, चम्चा दौड, बोरा दौड, म्यूजिकल चियर आदि
पर्वतीय साहसिक खेल तथा विविध कार्यक्रम ।
अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वरा अन्नपूर्ण आरोहण दिवस अर्थात् अन्नपूर्ण डे को अवसरमा वि.स. २०७५ सालदेखि आरम्भ गरिएको म्याराथन गत वर्ष कोभिड–१९ का कारण हुन सकेको थिएन । अन्नपूर्ण म्याराथन जेठ २० गते अन्नपूर्ण आधारशिविरबाट आरम्भ हुने म्याराथन माछापुच्छ्रे आधारशिविर, वगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै घान्द्रुक आई समापन हुने गरी म्याराथन रुट कायम गरिएको छ ।
विशेषतः सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमानी राखेको सन्दर्भमा उक्त दिनलाई “अन्नपूर्ण आरोहण दिवस” मनाउने गरिन्छ । सोही दिनको सम्झनामा अन्नपूर्ण म्याराथन हुने भएकाले यसको छुट्टै ऐतिहासिक गरिमा रहेको संयोजक गुरुङले बताए ।
अन्नपूर्ण म्याराथनलाई अन्तर्राष्ट्रिय इभेन्टका रुपमा विकास गर्न यसवर्षदेखि अल्टिमेट एडभन्चरले प्राविधिक सहयोग गर्ने भएको छ । अन्नपूर्ण म्याराथनमा पहिलो संस्करणको उपाधि त्रिभुवन आर्मीका हरिकुमार रिमालले जितेका थिए भने दोस्रोमा डोटीका खगेन्द्रबहादुर भाटले जितेका थिए ।
यस्तै महोत्सव अन्तर्गत हुने गाउँपालिकास्तरिय पुरुष भलिबलमा विजेता टोलीले नगद ८० हजार र उपविजेताले नगद ५० हजार प्राप्त गर्नेछन् भने खुल्ला पुरुष बास्केटबल तर्फका विजेताले नगद रु ८० हजार र ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
अन्नपूर्ण म्याराथन/अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव–२०८० सम्पन्न गर्नका लागि करिब ८० लाख रुपियाँ लाग्ने अनुमान आयोजकले गरेको छ । सो कार्यक्रमका लागि अन्नपूर्ण गाउँपालिका, नेपाल पर्यटन बोर्ड, छोम्रोङ पर्यटन व्यवस्थापन समिति, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजन (एक्याप)/राष्ट्रिय प्रकृति संरक्षण कोष, घान्द्रुक पर्यटन व्यवस्थापन समिति, टाँडापानी पर्यटन व्यवस्थापन समिति, खेलकूद मन्त्रालय, अन्नपूर्ण काठमाडौं समाज नेपाल, गुरु आनन्द फाउन्डेशन सहितका अन्य पर्यटनसँग सम्बन्धित संघसंस्थाले सहयोग गर्ने भएका छन् ।
महोत्सव सम्पन्न गर्न ५०१ सदस्यीय रहेको मुल व्यवस्थापन समिति, ३१ वटा बिभिन्न उपसमिति गठन गरिएको घान्द्रुक होटल व्यवस्थापन समितिका अध्यक्ष बिक्रम गुरुङले जनाएका छन् ।
