
पोखरा स्पोर्टस । १४ औं सस्करणको केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड यहि फागुनको अन्तिम साता हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)ले उक्त प्रतियोगिता यहि फागुनको २८ देखि ३० गते सम्म आयोजना गर्ने भएको हो । यस अघि राखेपले फागुनको १६ देखि १८ गते सम्म प्रतियोगिता आयोजना गर्ने जनाएको थियो ।
केही दिन अघि मात्रै सातै प्रदेश खेलकुद परिषदका सदस्य सचिबहरुको संयूक्त रुपमा सम्पन्न जुम बैठकले बैशाखको पहिलो साता गर्ने तय भए पनि राखेपले भने उक्त प्रतियोगिता फागुनको अन्तिम साता गर्ने तयारी गरेको प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जनाए ।
यता गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड फागुनको ११ देखि १३ गते सम्म नवलपुरमा हुने भए पछि त्यसको सम्पूर्ण तयारी पुरा भएको कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिए ।
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको फागुन ११ गते गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री एवं परिषदका संरक्षक सुरेन्द्रराज पाण्डेले गर्ने छन् ।
गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा ६ खेलका १ हजार २ सय खेलाडी, प्रशिक्षक, टिम ब्यवस्थापक गरी १ हजार ४ सयको हाराहारीमा नवलपुर पुग्नेछन् । सोही प्रतियोगिताबाट केन्द्रिय राष्ट्रपति रनिङ शिल्डका लागि सबै खेलका १ सय १२ जना खेलाडी छनौट हुनेछन् ।
फागुन ११ गतेबाट सञ्चालन हुने गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत छात्र/छात्रा भलिबल र कबड्डी देवचुली नगर पालिकामा हुने तय गरिएको छ भने कराते मध्यबिन्दु नगर पालिका, तेक्वान्दो गैडाकोट नगरपालिका, उशु र एथलेटिक्स कावासोतीमा हुनेछ । उद्घाटन लगायत अन्य कार्यक्रमहरु समेत कावासोतीमा हुने प्रदेश खेलकुद परिषदले जनाएको छ ।
