नवौँ राष्ट्रिय खेलकुद :  महिला क्रिकेटमा मधेश प्रदेशको विजयी शुरुवात

पोखरा स्पोर्टस । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले विजयी शुरुवात गरेको छ । पोखरा रंगशालामा आइतबार भएको उद्घाटन खेलमा मधेशले आयोजक गण्डकी प्रदेशलाई ४० रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

मधेश प्रदेशले दिएको ७८ रनको लक्ष्य पछ्याएको आयोजक गण्डकी प्रदेश १९ ओभरमा ३७ रनमै समेटिन पुग्यो । गण्डकी प्रदेशका लागि शिला क्षत्रीले जोडेको १० रन नै सर्वाधिक रन बन्न पुग्यो । अन्य कुनैपनि व्याट्सउमनले दोहोरो आँकडाको योगफल जोडन सकेनन् ।

ओपनर सृजना पौडेलले ३६ बलको सामना गर्दै ७ बनाइन् । अर्की ओपनर कुसुम गोदार पहिलो बलमा नै एलबीडब्लु धरापमा पर्दै पवेलिएन फर्कीइन् । ज्योत्सिना मरासिनी ५ रन जोड्दा रन आउट भइन । कप्तान सृष्टि जैसी ३ तथा अञ्जली विश्वकर्मा र सिमाना केसी समान २ रनमा आउट भए । सुजिता थापा र श्रद्धा गुरुङ शुन्यमै आउट भए ।

मधेश प्रदेशकी अनुराधा चौधरीले आफ्नो स्पेलमा १ मेडन राख्दै ८ रन खर्चेर ४ विकेट लिइन । कविता गौतम र शान्ती चौधरीले समान २ विकेट लिए । सन्तोषी चौधरीले एक विकेट लिइन् ।

त्यसअघि पोखरा रगंशालाको क्रिकेट स्टेडियममा गण्डकीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ७७ रनको योगफल तयार पारेको थियो। मधेस प्रदेशकी सरस्वती कुमारीले सर्वाधिक १५ रनको योगदान दिईन्। सरस्वती १५ र रोजी कडारी ९ रनमा नटआउट रहे। साना प्रविन र एलिसा यादवले समान १४ रन थपे। सन्तोषी चौधरी र शान्ती चौधरीले समान ८ रन बनाए। गोमा आले १ रनमा रनआउट भईन्। कप्तान कविता गौतम, अनुराधा चौधरी, सबनम खातुन शुन्य रनमा आउट भए।

मधेश प्रदेशलाई कम स्कोरमा रोक्न गण्डकी प्रदेशकी आकृती तिवारी एक्लैले ३ विकेट लिईन्। उनले आफ्नो स्पेलमा १२ रन दिईन्। कुसुम गोदारले दुई तथा सृष्टि जैसी र शिला क्षत्रीले समान एक विकेट झारे। खेलमा मधेशका अनुराध चौधरी प्लेयर अफ द म्याच भइन् ।

यसअघि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र राष्टिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बलिङ व्याटिङ गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए ।

दोश्रो खेलमा बागमतीलाई सफलता
आजै भएको समूह ए के दोश्रो खेलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशमाथि ८ विकेटको जित हात पार्दै महत्वपूर्ण २ अंक जोड्न सफल भयो । ७१ रनको लक्ष्य पछयाएको बागमतीले १३.१ ओभरमा २ विकेटको क्षतीमा लक्ष भेटाएको हो । बागमतीले ७२ जोड्यो । कञ्चन श्रेष्ठले ४४ बलको सामना गर्दै २५ रन जोड्न सफल भईन् । उनी रन आउट भईन् । यस्तै सुमन खतिवडा ११ रन, अश्मिता खरेल ९ रन र आरती विडारी नटआउट ३ रन जोड्न सफल भए । सुदूरपश्चिमका यासुपाण्डेले १ विकेट लिईन् ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा टस जितेर फिल्डिङ्ग रोजेको बागमतीले सुदूरपश्चिमलाई ७१ रनमा रोक्न सफल भएको थियो । सुदूरपश्चिमकी अनु कडायतले सर्वाधिक २२ रन जोडिन् । उनले २३ बलको सामना गर्दै २ चौक प्रहार गरिन् । रुवी पोदारले १२ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । यशु पाण्डेले ७, विन्दु रावल र स्नेहा महराले समान ५, रितु कनौजियाले ३ र डली भट्टले २ रन जोडे । बागमतीले अतिरिक्त १५ रन दिएको थियो ।

बागमतीकी ओमेन अफ दि म्याच सोनी पाखरिनले ५ विकेट लिईन् । उनले आफ्नो स्पेलमा १३ रन दिईन् । यस्तै खुशी डङ्गोलले २ र अश्मिता खरेलले १ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close