एनसेल बाह्रखरी कर्पोरेट गल्फको बिजेता बने कार्की

पोखरा स्पोर्टस । अर्जुनकुमार कार्कीले शनिबार सम्पन्न ‘एनसेल बाह्रखरी गल्फ’ कर्पोरेट गल्फ प्रतियोगिताको सातौँ संस्करणको उपाधि हात पारेका छन् । प्रतियोगितामा सहभागि १ सय ३१ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्कीले सुनको बल पुरस्कार स्वरुप जितेका हुन् ।

हिमालयन गल्फ कोर्समा १८ होलको ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगितामा कार्कीले ३९ अंक जोडेका थिए । आठ ह्यान्डीक्यापमा खेलेका कार्कीले फ्रन्ट नाइनमा २२ अंक जोडेका थिए भने ब्याक नाइनमा १७ अंक जोडे ।

यससँगै चार ह्यान्डीक्याप खेल्ने रमेश गुरुङले ३३ अंक जोड्दै बेस्ट ग्रसको उपाधि जिते । बेस्ट ग्रसमा रमेश गुरुङ र टासी छिरिङले समान अंक जोडेका थिए । तर ब्याक नाइनमा रमेशले १६ अंक जोड्दै बेस्ट ग्रसको उपाधि जिते । टासीले ब्याक नाइनमा १४ अंकमात्र जोडे । नोर्बु छिरिङ शेर्पाले मस्ट बर्डीको उपाधि जितेका छन् । शेर्पाले पाँच बर्डी प्रहार गरेका थिए ।

पुरुषतर्फ पोखराका लिलाजंग गुरुङले दोस्रो स्थान हात पारेका छन् । गुरुङले ३७ अंक जोडेका थिए । पुरुषतर्फको उपविजेतामा दुई खेलाडीबिच अंक बराबर भएको थियो । तर, काउन्ट ब्याकमा १९ अंक जोड्दै गुरुङले दोस्रो स्थान हासिल गरे । गुरुङसँग अंक बराबर गरेका आयुश मानन्धरले काउन्ट ब्याकमा १७ अंक जोडे ।

प्रतियोगितामा बलराम थापाले सिनियर (६० वर्षमाथि) तर्फको उपाधि जिते । उनले ३६ अंक जोडेर सिनियरतर्फको शीर्ष स्थान हासिल गरे । 

महिलातर्फको उपाधि सुस्मा सिंहले जितिन् । उनले ३६ अंक जोडेकी थिइन् । उपविजेता बनेकी बालकासी गुरुङले ३० अंक जोडिन् ।

क्लोजेस्ट टू द पिनको उपाधि संगम केसीले जिते । चौथो होलमा राखिएको ‘होल इन वन’ को पुरस्कारमा ‘बीवाईडी’ को ‘अट्टो थ्री’ गाडी जित्न दुई यार्डले चुकेका थिए । लङ्गेस्ट ड्राइभको उपाधि बानचेन ढुन्डुपले जिते । उनले ३२० यार्ड लामो ड्राइभ प्रहार गरेका थिए ।

प्रतियोगितामा काठमाडौं, धरान, विराटनगर, वीरगन्ज, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, धनगढीसहित केही विदेशी ‘कर्पोरेट’ गल्फरले प्रतिस्पर्धा गरेका थिए ।

पोखराको हिमालयन गल्फ कोर्स सम्पन्न प्रतियोगिताको समापन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close