
पोखरा स्पोर्टस । साउदी अरबमा डेढ दशकदेखि बस्दै आएका बुटवल उपमहानगरपालिका ११ का यम बहादुर गुरुङ (यम तमु) ले महिला राष्ट्रिय फुटबल टोलीलाई १० लाख रुपैयाँ प्रदान गरेका छन् ।
साउदी अरेबियामा फागुन १६ गते भएको वाफ च्याम्पियनसिपको फाइनलमा हेर्न पुगेका तमुले खेलाडीको उच्च प्रदर्शनबाट आफू प्रभावित भएको जनाउँदै महिला टोलीलाई एक मुष्ट रकम प्रदान गरेका हुन् । उनले अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रिय सदस्य, एन्फा महिला संघकी अध्यक्ष एवंम राष्ट्रिय खेलकुद परिषद्की सदस्य पेमा डोल्मा लामालाई रकम सहयोग रकम पठाइसकेका छन् ।
रकम प्राप्त भए संगै लामाले भनिन्, ‘तमुकी श्रीमती उमाको उपस्थितिमा केहि दिनमा खेलाडीलाई रकम हस्तान्तरण गर्नेछौं ।’ टोलीमा २३ खेलाडी रहेका छन् ।
जोर्डनसँगको फाइनलमा नेपाल पेनाल्टी सुटआउटमा ५–३ ले पराजित भएको थियो । निर्धारित समयमा फाइनल २–२ बराबरी भएको थियो । त्यसअघि सेमिफाइनलमा लेबनानलाई २–१ ले हराएको नेपालले समूह चरणमा इराकलाई ५–०, सिरियालाई ४–१ र प्यालेस्टाइनलाई ४–० ले हराएको थियो ।
१५ वर्षदेखि साउदी बस्दै आएका गुरुङले ५ वर्षदेखि साउदीको रियादमा लालीगुरास नेपाली रेष्टुरेन्ट सन्चालन गर्छन् । ‘महिला टोलीले जसरी प्रतियोगिता खेल्यो त्यो स्तरीय थियो, हामी सबैले उहाँहरुको हौसला बढाउनु पर्दछ भन्ने ठान्दछु,’ गुरुङले भने–,‘म यहाँ पनि अन्य सामाजिक काममा पनि संलग्न छु । महिला टोलीका खेलाडीलाई सहयोग गर्न पाउँदा खुसी छु ।’
