भेट्रान एट–ए साइड–अन्तर्राष्ट्रिय फुटबलको उपाधी टी बर्गर ललितपुरलाई

पोखरा,बगर भाईखलकको आयोजनामा भएको तेश्रो स्व. रन्जित गुरुङ स्मृती तथा नवौं बगर भाइखलक भेट्रान एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधी टी बर्गर ललितपुरले हात पारेको छ । शनिबार टुडिखेल मैदानमा भएको फाईनल खेलमा गत वर्षको विजेता एविसि भेट्रानलाई पछाडी पार्दै टी बर्गरले उपाधि हात पारेको हो ।

फाइनल खेलमा टी बर्गरले एबिसिलाई २–१ को गोलले पराजित ग¥यो । जित हासिल गर्न टी बर्गरको तर्फबाट दुवै गोल टियाराम भुजेलले गरे । उनले पहिलो गोल १३ मिनेटमा र दोश्रो गोल २९ मिनेटमा उत्कृष्ट प्रदर्शनका साथ गरे । एबिसिका तर्फबाट दोश्रो हाफको शुरु भएलगत्तै ३३ मिनेटमा बिजय गुरुङले सान्त्वना गोल गरे । प्रतियोगितामा उपाधी विजेताले नगद १ लाख ११ हजार र उपविजेताले ५५ हजार ५ सय ५५ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । खेलमा म्यान अफ दि म्याचको उपाधि टि बर्गरका टियाराम भुजेलले पाए ।

टी बर्गरका नरेन्द्र लिम्बु प्रतियोगिताका उत्कृष्ट खेलाडी बन्न सफल भए । त्यसैगरि उत्कृष्ट गोलकिपर एबिसिका रबिन शाही, उत्कृष्ट डिफेन्डर एबिसिका विश्वलाल श्रेष्ठ, उत्कृष्ट फरवार्ड टी बर्गरका सुक्र तामाङ र उत्कृष्ट मिड फिल्डरको उपाधि टी बर्गरका टियाराम भुजेलले पाउन सफल भए । उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्ड हुने खेलाडीलाई ट्रफी सहित जनही नगद रु. ५ हजार प्रदान गरियो । साथै सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी सहित नगद रु. १० हजार दिईयो । त्यस्तै प्रतियोगितामा सहभागी सवै भन्दा जेष्ठ खेलाडी श्रृंखला भेट्रानका चिनबहादुर खत्रीलाई बगर भाइखलकले सम्मान समेत गरेको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले स्वास्थ्यका लागि खेलकुद आवश्यक रहेको बताए । खेलकुदद्वारा हुने आपसी सद्भावलाई कायम राखि अगाडी बढ्नुपर्ने उनले बताए । खेलप्रेमिलाई प्रतियोगितामा स्वागत गर्दै बगर भाइ खलकका अध्यक्ष दिल बहादुर गुरुङले खलकले विगतदेखि गरेको गतिविधिका बारेमा जानकारी दिएका थिए । साथै साथ र सहयोगका लागि अध्यक्ष गुरुङले सम्पूर्णलाई धन्यवाद व्यक्त समेत गरेका थिए ।

‘स्वास्थका लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागी नौलो आयाम’ भन्ने मूल नारालाई आत्मसात विगत २०६८ साल देखि ४० बर्ष देखि ६५ बर्षको उमेर समुहको भेट्रान फुटवल प्रतियोगीता आयोजना हुँदै आएको छ । प्रतियोगितामा विभिन्न ९ जिल्ला र भारत कलकत्ताका गरि २८ टिमको सहभागिता रहेको थियो ।

सम्मान तथा पुरस्कार वितरण मन्त्री किरण गुरुङ, प्रदेश सभासद् कृष्ण थापालगाएत विशिष्ट व्यक्तिले वितरण गरेका थिए । कार्यक्रमको संचालन संस्थाका महासचिब याम गुरुङले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close