‘टप अफ दि वर्ल्ड क्लासिक गल्फ प्रतियोगिता’को तयारी पुरा

पोखरा स्पोर्टस । विश्वकै सर्वाधिक उचाईमा रहेको मुस्ताङस्थित लोमान्थाङ गाउँपालिकाको लोवाथाङ मुस्ताङ गल्फ कोर्षमा तेस्रो संस्करणको ‘एमेच्योर गल्फ प्रतियोगिता’को तयारी पुरा भएको छ ।

समुन्द्र सतहबाट ४७०० मिटरको उचाईमा अवस्थित लोवाथाङको मुस्ताङ गल्फ कोर्षमा भोली भदौ १ गते हुने प्रतियोगिताको तयारी पुरा भएको हो ।

प्रतियोगिता आयोजक संस्था मुस्ताङ गल्फका प्रवन्ध निर्देशक एवं गण्डकी प्रदेश सभाका पूर्व सांसद इन्द्र धारा विष्टले विश्वकै उच्च स्थान (हाइअल्टिच्यूड)मा रहेको गल्फ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको पोखरा स्पोर्टसलाई जानकारी दिए ।

“प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ”, प्रवन्ध निर्देशक विष्टले भने–“सहभागि खेलाडीहरु समेत लोमान्थाङ अइपुगेका छन् ।” प्रतियोगिताको आयोजनाले लोमान्थाङ यति बेला खेलमय बनेको जनाउँदै तेस्रो संस्करणले उच्च उचाईमा रहेको विश्वकै एक मात्र गल्फ कोर्सले विश्वको ध्यान अझै आकृष्ट गर्न सफल हुने उनले विश्वास व्यक्त गरे । “यति बेला लोमान्थाङ गल्फमय भएको छ” विष्टले भने–“हामी यहाँ आएका खेलाडीहरुलाई परम्परागत रुपमा स्वागत गर्न व्यस्त छौं भने अर्का तर्फ स्थानियहरुमा समेत उत्साह छाएको छ ।”

प्रतियोगितामा सहभागि हुन ३५ जना गल्फरहरु लोमान्थाङ पुगेको जानकारी दिंदै प्रवन्ध निर्देशक विष्टले वर्षाका कारण अन्तिम समयमा भारतिय १५ गल्फरहरुले नाम फिर्ता लिएको जानकारी दिए । प्रतियोगितामा गैर आवाशिय नेपाली संघ (एनआरएनए), काठमाण्डौ, धरान, बुटवल र पोखराका गल्फरहरुको सहभागिता छ । जसमध्ये ४ महिला खेलाडीहरु पनि छन् ।

लोवान्थाङ स्थित मुस्ताङ गल्फ कोर्सलाई विश्वकै उच्च स्थानमा रहेको गल्फ कोर्सको रुपमा विकास गर्दै गल्फ कोर्षलाई गिनिज बुक्स अफ वर्ल्ड रेकर्डमा दर्ज गराउने प्रक्रियाले समेत अव मूर्त रुप पाउनेमा विश्वास व्यक्त गर्दै विश्वका गल्फरहरुलाई एक पटक यहाँ आउन र त्यसमार्फत समग्र पर्यटन क्षेत्रको ढोका खुल्ने उनको भनाई छ ।

प्रतियोगितामा होल नं ३ इन वनको विजेतालाई याक वा सो बरावरको १ लाख नगद प्रदान गरिने छ । त्यसै गरि विजेता, उपविजेता, महिला विजेता, वेष्ट ग्रस, नियर टु दि होल, लङ ड्राइभ र वर्डिजका विजेतालाई ट्रफी प्रदान गरिने छ । प्रतियोगितामा गत वर्ष सम्पन्न दोस्रो सस्करणमा श्याम तामाङ विजेता रहेका थिए ।

करिव ४ किमि क्षेत्रफलमा फैलिएको मुस्ताङ लोवान्थाङ गल्फ कोर्षमा हुने प्रतियोगिता ९ होल ह्याण्डिक्याप स्टेबल फोर्ड ढाँचामा खेलाइने छ ।

प्रतियोगिताको उद्घाटन भोली (शनिबार) लोमान्थाङ गाउँ पालिकाका अध्यक्ष टाशी नोर्वु गुरुङले गर्ने छन् । प्रतियोगितालाई लोमान्थाङ गाउँ पालिकाले समेत सहयोग गरेको छ । यसका साथै प्रभु बैंक, सिटि एक्सप्रेस मनी चेन्जर, जर्मनी बेकरी पोखरा, सोल्टी मिनरल वाटर, लो मुस्ताङ हिमालयन रिर्सोट लगायतले सहयोग गरेका छन् ।

स्मरणिय के छ भने गत अगस्त २०२२ मा उद्घाटन गरिएको मुस्ताङ गल्फ कोर्सले २० मिलियन सदस्यता प्रतिहरुसहितको अग्रणी गल्फ पत्रिका गल्फ डाइजेस्टमा अभूतपूर्व कभरेज प्राप्त गरेकोले पनि आयोजक टोली थप उत्साहित बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close