
पोखरा स्पोर्टस । बागमती अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना मिति सर्दा अन्य प्रदेशलाई तयारी र ब्यावस्थापनमा समस्या परेको छ ।
प्रदेश खेलकुद विकास परिषद बागमतीको आयोजनामा सञ्चालन हुन लागेको उक्त प्रतियोगिता तेश्रो पटक सरेको हो । प्रतियोगिता सञ्चालन हुने मिति तेश्रो पटक सारिए पछि यसको तयारीमा जुटेका अन्य प्रदेशहरुलाई ब्यवस्थापनमा समस्या उत्पन्न भएको छ भने छनौट सम्पन्न भएका खेलाडीहरुमा अन्यौलता छाएको छ ।

सोही प्रतियोगितालाई मध्यनजर गर्दै गण्डकीमा तयारी तिव्ररुपमा अघि बढिरहेको बेला शुक्रबार प्रदेश खेलकुद विकास परिषद बागमतीले आफ्नो तयारी नपुगेको भन्दै चैत्र २५ गते सुरु हुने भन्दै पत्रचार गरेको छ । पटक–पटक प्रतियोगिता सारिएपछि प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले असन्तुष्टि पोख्दै सामाजिक सञ्जालमा तितो पोखेका छन् । उनले पोखरा स्पोर्टस संग कुरा गर्दै पूर्व निर्धारित कार्यक्रमहरु पटक–पटक सार्दा खेलकुद विकासमा नकरात्मक प्रभाव पर्ने बताए ।
उनले सामाजिक सञ्जालमा भनेका छन्–“यहि चैत्र २ देखि यहि ८ गतेसम्म निर्धारित गरे बमोजिम प्रदेश खेलकुद परिषद गण्डकीले खेलाडी छनौट कार्यक्रम/प्रतियोगिता आयोजना र प्रशिक्षण कार्यक्रम सन्चालन गरेको छ । तर बागमती प्रदेश खेलकुद विकाश बोर्डले आफू खुशी र एकलौटि रुपमा पुर्व निर्धारित कार्यक्रमको मिति सार्दा हाम्रो प्रदेशलाई आर्थीक र ब्यवस्थापनमा मर्का परेको छ ।”
यसरी पूर्व निर्धारित प्रतियोगिताहरु सार्दा खेलकुद क्षेत्रमा प्रश्न उठिरहेको जनाउँदै सदस्य सचिव शर्माले यसको उपचारको खोजी काुननी उपचारमा रहेको होकी भन्दै प्रश्न गर्दै भनेका छन्–“विभिन्न बहाना बनाउँदै प्रतियोगिताको मिति सार्नु र प्रदेशहरुको सहमति नखोज्नु आफैमा निरङ्कुसताको प्रतीक हो कि ? भन्ने देखिन्छ । पटक पटक मिति सार्दा एका तर्फ प्रतियोगिता हुने वा नहुने प्रश्न उठ्नु र हाम्रो थप ब्ययभार थोपरिनुको समाधान के हो ? उत्तर खोइ ?”
