
पोखरा स्पोर्टस । पहिलो पटक गण्डकीमा रेफ्रि, प्रशिक्षक, वर्तमान तथा पूर्व राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलाडीहरुलाई आकस्मिक दुर्घटना बिमाको सुरुवात भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीले आज (बुधबार)बाट लागु हुने गरी ६ सय ९४ जनाको एक मुष्ट आकस्मिक दुर्घटना बिमाको सुरुवात गरेको हो ।
आगामी एक वर्षका लागि बिमा गरिएका मध्ये ५ सय ९४ जना परिषदमा सूचिकृत भएका रेफ्रि, जज, प्रशिक्षक रहेका छन् भने १ सय जना नाम नखुलेका वर्तमान तथा पूर्व राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलाडीहरु रहेको परिषदका सदस्य सचिव श्रीधर शर्माले जनाएका छन् ।
“यो खेलकुद क्षेत्रमा नितान्त नौलो विषय हो । यति ठूलो संख्यामा विमा गरिएको थिएन”, सदस्य सचिब शर्माले भने–“यो नयाँ अध्यायको सुरुवात भएको छ भने अर्को तर्फ वर्तमान तथा पूर्व राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलाडीहरु १ सय जना नाम नखुलाई हामीले विमा गरेका छौं ।”
रेफ्रि, जज र प्रशिक्षकहरु संगै वर्तमान पूर्व तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलाडीहरु कुनै कार्यक्रममा जाँदा वा आउँदा, खेलस्थलमा हुने आकस्मिक दुर्घटनामा बिमा दाबीका लागि परिषदको सिफारिसमा विमा कम्पनीले अधिकतम चारलाख सम्म उपलब्ध गराउने भएको छ ।
विमा कै कारण खेल क्षेत्र आकर्षण बढ्ने बताउँदै सदस्य सचिब शर्माले खेलाडीहरुलाई ढुक्क भएर मैदानमा खेल्न मात्रै नभई सूचिकृत भएका रेफ्रिहरुलाई समेत सहजता हुने बताए । खेलकुद क्षेत्रमा नया अध्यायको सुरुवात भएको बताउँदै उनले कम्तिमा रास्ट्रिय/अन्तर्राष्ट्रिय खेल खेलेका पुर्व तथा बर्तमान खेलाडी नाम नखुलाई समुहगत १ सय जनाले तथा ५ सय ९४ जना परिषदमा सुचिकृत रेफ्री प्रशिक्षक नाम खुलेका गरि ६९४ जनाको दुर्घटना बिमा रु ४ लाख र सोको ३३ प्रतिशत क्रमशः मृत्यु र औषधि उपचार बिमाबाट प्राप्त गर्नेछन् ।
