
पोखरा स्पोर्टस । कोशी प्रादेशिक टि–२० क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन हिंडेको गण्डकीको क्रिकेट टोलीलाई आइतबार एक कार्यक्रमका बिच बिदाई गरिएको छ ।
उक्त प्रतियोगिता यहि फागुन २२ गते देखि चैत्र ६ गते सम्म बिराटनगरमा सञ्चालन हुने भएको हो । प्रतियोगितामा सहभागिता जनाउन विपिन खत्रीको कप्तानीमा १४ सदस्यिय टोलीले बिराटनगरमा आयोजना हुने उक्त प्रतियोगितामा मैदानमा उत्रिने भएको छ ।
गण्डकीको टोलीमा यू–१९ राष्ट्रिय टोलीका खेलाडी द्वय सुभाष भण्डारी र दिपक डुम्रे समेत रहेको गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।
सहभागि खेलाडीहरुमा समिर कंडेल, इश्वर क्षेत्री, गोबिन्द क्षेत्री, दिनेश बुढा मगर, सन्दिप खत्री क्षेत्री, अमृत गुरुङ, कृष्ण पौडेल, करण पगेनी, सन्दिप पराजुली, चन्द्रकान्त पौडल र अभिसेक थापा रहेका छन् ।
त्यसै गरी टिमको प्रशिक्षकमा आइसिसी लेभल २ प्रशिक्षक रिजन प्रजु र टिम ब्यवस्थापकमा चन्द्र कुमार गुरुङ ‘जिम्मी’ रहेका छन् ।
खेलाडीहरुलाई प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिब श्रीधर शर्मा, कार्यकारी सदस्य ऋषीराम गौतमलगायतले बिदाई गरेका थिए । उनीहरुले सो अवसरमा खेललाई जित र हारको रुपमा नहेरी गण्डकी प्रदेशका तर्फबाट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरेका थिए ।
