
पोखरा स्पोर्टस । बुटवलमा सम्पन्न दोश्रो मेयर कप तथा छैटौं बुटवल ओपन टेनिस प्रतियोगितामा गण्डकी प्रदेशका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै मेडलमा कब्जा जमाएका छन् । प्रतियोगिताबाट गण्डकीले महत्वपूर्ण पाँच स्वर्ण पदक भित्र्याएको हो ।
प्रतियोगिता अन्तर्गत मेन्स सिंगलमा गण्डकीका प्रदीप खड्काले रितिक रानालाई ६–३, ४–६ र ६–४ ले पराजित गर्दै उपाधि जिते । त्यस्तै गण्डकीकै अनिल शाहीले कमल भण्डारीलाई ७–५, ६–७ र ११–९ ले पराजित गर्दै स्वर्ण जिते ।
४५ वर्ष माथिको डबल्समा धरमबहादुर लामिछाने र गोपीबहादुर भट्टराईको जोडीले स्वर्ण पदक भित्र्याए । यो जोडीले रोहित सुनुवार र जोली तारगङको जोडीमाथि ७–५, ७–५ को नतिजा निकालेको थियो । त्यस्तै, लोक गुरुङ्ग र धरमबहादुर लामिछानेको जोडीले ५५ वर्ष माथिको डबल्समा स्वर्ण जिते । उनीहरुले फाइनल खेलमा बिमल वाइबा र हिमाल शाहको जोडीलाई ३–६, ७–५ र १०–६ ले पराजित गरेका थिए ।
३५ वर्ष माथिको डबल्समा अनिल शाही र सिमान्त गुरुङ्गको जोडीले सन्तोष खत्री र सन्जय श्रेष्ठको जोडीलाई ६–३, ६–३ ले पराजित गर्दै प्रथम स्थान हाँसिल गरे । मेन्स डबल्सतर्फ आशिष खड्का र आयुष्मान घले जोडीले स्वर्ण जिते । उनीहरुले सक्षम बिक्रम शाह र आर्यन गिरीको जोडीलाई ६–४, ६–२ को स्कोरमा पराजित गर्दै उपाधी जितेका हुन् । ४५ वर्ष माथि सिंगलतर्फ गोपीबहादुर भट्टराईले दोश्रो स्थान हाँसिल गरे । फाइनल खेलमा उनी कमल भण्डारीसंग ६–१, ६–१ ले पराजित हुन पुगेका थिए ।
जित पछि प्रतिक्रिया दिंदै गण्डकी प्रदेश टेसिन संघका उपाध्यक्ष लोक गुरुङले यो प्रतियोगिता ऐतिहाँसिक सफलता भएको बताए । ‘यो टुर्नामेण्टमा प्राप्त पदकले अब गण्डकीको टेनिस एक कदम अघि छ भन्ने प्रमाणित गरेको छ’–गुरुङले भने ।
