केन्द्रिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बैशाखको पहिलो साता

पोखरा स्पोर्टस । नेपाली खेलाडी उत्पादनको मुख्य प्रतियोगिताको मध्येको एक केन्द्रिय राष्ट्रपति रनिङ्ग शिल्ड बैशाखको पहिलो साता हुने भएको छ ।

काठमाण्डौमा बुधबार सम्पन्न १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड आयोजक समितिको बैठकले आगामी बैशाख ४ देखि ६ गते सम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको बाग्मती प्रदेशका सदस्य सचिव सूर्यलाल भण्डारीले जनाएका हुन् ।  बैठक राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा बसेको थियो । 

पोखरा स्पोर्टस संग कुरा गर्दै राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका आयोजक समितिका सदस्य समेत रहेका भण्डारीले भने–“हामीले आज केन्द्रिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारीका लागि गम्भिर छलफल गर्दै मिति तय गरेका छौं । हामीले सकभर विद्यालयस्तरीय परिक्षाहरुलाई समेत मध्येनजर गर्दै बैशाखको पहिलो साता गर्ने निर्णय गरेका हौं ।”

केन्द्रिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता काठमाण्डौस्थित दशरथ रंगशालामा सञ्चालन हुने आयोजक समितिको बैठकले निर्णय गरेको सदस्य सचिब भण्डारीले जनाए । “यो पटक भब्य समारोहका बीच प्रतियोगिता आयोजना हुनेछ”–उनले थपे,“धेरै भन्दा धेरै विद्यालयका विद्यार्थीहरुलाई हामीले प्रतियोगिताको अवसरमा अवलोकन गराउने जमर्को गरेका छौं ।”

बैठकले प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख अतिथिमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाई निमन्त्रण गर्नेलगायत निर्णय पनि गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेपमा भएको बैठकमा प्रदेश खेलकुद विकास बोर्ड, कोशीका सदस्य–सचिव हंशराज वाग्ले, मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण विकास मन्त्रालयका सचिव चूडामणि फुयाल, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारी, प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य–सचिव श्रीधर शर्मा, प्रदेश खेलकुद परिषद्, लुम्बिनीका सदस्य–सचिव जयप्रकाश भट्टराई, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव दीपक सिंह, युवा तथा खेलकुद मन्त्रालयका उप सचिव विष्णु भट्टराई, राखेपका सदस्यद्वय अञ्जन धमला र प्रकाशकुमारी कुसारी, प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ललगतालगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत छात्र–छात्रा भलिबल र कबड्डी, कराते, तेक्वान्दो, उशु र एथलेटिक्सका प्रतियोगिताहरु आयोजना हुनेछन् ।

यस अघि राखेपले कहिले बैशाख र कहिले फागुनमा आयोजना हुने भन्दै पटक–पटक प्रदेश खेलकुदहरुलाई पत्रचार समेत् गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close