
पोखरा स्पोर्टस । गण्डकीको महिला भलिबल टोली प्रथम लुम्बिनी कप राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागिता जनाउन पाल्पा जाने भएको छ ।
यहि फागुन १८ देखि २४ गते सम्म पाल्पाको रामपुर नगरपालिकामा जिल्ला भलिबल संघको आयोजनामा हुने प्रतियोगितामा सहभागिता जनाउन लागेको हो । गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङका अनुसार गण्डकी अरुणा शाहीको कप्तानीमा उक्त प्रतियोगितामा सहभागिता जनाउने छ ।
त्यसै गरी गण्डकीको टोलीमा एलिशा रोका मगर, मनिषा तिलिजा, काजल छन्त्याल, सजिना बुढाथोकी, पुजा सेन ठकुरी, सोइङ्ग थापा, हिमाली रोका, सम्पदा गुरुङ, खुसी पुन, रेविना घर्ती मगर र अनिशा रोका रहेका छन् ।
त्यसै गरी टिमको प्रशिक्षकमा मलिन रोका मगर, सहायक प्रशिक्षकमा समित गुरुङ र टिम म्यानेजरमा पूर्ण बहादुर गुरुङ ‘जापान’ रहेका छन् ।
नेपाल भलिबल संघको संयोजन, प्रदेश खेलकुद परिषद लुम्बिनीको प्रवर्द्धन तथा मुख्य प्रायोजनमा सञ्चालन हुने प्रतियोगिताका लागि अध्यक्ष गुरुङले जितको शुभकामना व्यक्त गरेका छन् । उनले पोखरा स्पोर्टस संग कुरा गर्दै भने–“गण्डकीको महिला टोलीले यस पटक उत्कृष्ट खेल्छ भन्नेमा ढुक्क छौं । सातै प्रदेश मध्ये गण्डकीको उत्कृष्ट भएर फर्किनेमा हामी विश्वस्त छौं ।”
प्रतियोगितामा उपाधि बिजेता टिमले नगद रु २ लाख ५० हजार, उपविजेताले १ लाख ५० हजार, तृतियले ७५ हजार र चौथो हुने टिमले ३५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसै गरी सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार तथा अन्य विद्यागतरुपमा उत्कृष्ट हुने खेलाडीहरुले जनही नगद रु १० हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
