
पोखरा स्पोर्टस । अखिल नेपाल फुटबल संघ (एन्फा)ले कास्कीमा विद्यालय स्तरिय लिग शुरु गर्ने भएको छ ।

यूवा फुटबल बिकास परियोजना अन्तर्गत पोखरामा आयोजित एक अन्तक्रिया कार्यक्रममा उक्त कुराको जानकारी दिइएको हो । उक्त कार्यक्रमको उद्घाटन गर्दै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले कास्की माछापुच्छ्रे स्थित भिडावारीमा निर्माण हुन लागेको एन्फाको वहुउद्धेश्यिय योजना मध्येको एक एन्फा टेक्निकल सेन्टरको निर्माण कार्य रोक्न केही विरोधीहरुले गलत ढङ्गले प्रचारवाजी गरिरहेको आरोप लगाएका छन ।
नेपालमा फुटबल विकासका लागि केही वहुउद्धेश्यिय परियोजनाहरु एन्फाले शुरु गरेको जनाउँदै अध्यक्ष शेर्पाले भने–“केही विरोधीहरुले यति सम्म गरेका छन कि मदेश तिर बग्दै गरेको वागमती नदीको फोटो खिचेर भिडावारीको भन्दै फिफा र एफसीमा पठाएछन ।” गण्डकी प्रदेशको फुटबल विकासका लागि आफू संधै प्रतिवद्ध भएको जनाउँदै उनले भने–“ड्रिम प्रोजेक्टको शिलन्यासको दिन को कसले यस्तो हर्कत गरे म उनीहरुको त्यो गलत हर्कतको सबै उजागर गर्नेछु ।”
एन्फा टेक्निकल सेन्टर निर्माणको धेरै प्रक्रियाहरु अघि बढिसकेको बताउँदै अध्यक्ष शेर्पाले अव एन्फा वातावरणिय मुल्याङ्कनको अन्तिम प्रतिवेदनको पर्खाइमा रहेको बताए । गण्डकी प्रदेश आफैमा खेलकुद पर्यटनको राजधानीको रुपमा रहेको जनाउँदै उनले एन्फा टेक्निकल सेन्टर संगै मनाङ र मुस्ताङमा हाई अल्टिच्यूड फुटबल मैदान निर्माण गर्नेतर्फ एन्फा अघि बढ्ने बताए ।
नेपालमा हुने लिगका लागि पोखरालाई होम ग्राउण्डको रुपमा रोजेको मनाङ मर्स्याङदी क्लव (एमएमसी) को सम्झौताका लागि समेत पोखरा आएका अध्यक्ष शेर्पाले नेपालको फुटबल विकासका लागि ग्रास रुट र यूथ डेभलप्मेन्टका कार्यक्रमहरु तय गरिएको बताए । उनले व्यवस्थित योजना बाटै फुटबलको विकास अघि बढ्ने बताउँदै एमएमसीले पोखरालाई होम ग्राउण्डका रुपमा रोज्नु यस क्षेत्रको फुटबल विकासका लागि कोसे ढुङ्गा हुने उल्लेख गरे ।
सो अवसरमा एन्फाका केन्द्रिय सदस्य रत्न कुमार श्रेष्ठले गण्डकी प्रदेशमा एन्फा टेक्निकल सेन्टर जस्तो वहुउद्धेश्यिय परियोजना निर्माण शुरु हुन लाग्दा सबै खुसी हुनु पर्नेमा परियोजनाको विरुद्ध नकारात्मक प्रचार गर्नु दुःख लाग्दो विषय भएको बताए । फुटबल विकासका लागि सवै सकारात्मक रुपमा अघि बढ्न आग्रह गर्दै एन्फा टेक्निकल सेन्टरको निर्माणले प्रदेशको मात्रै नभई देशकै गौरव बढ्ने उनले बताए । कार्यक्रममा एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंहले यूवा विकास परियोजनाका विविध पक्ष बारे जानकारी दिएका थिए ।
एन्फा कास्कीका उपाध्यक्ष जगत बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा एन्फा कास्कीका महासचिव रमेश कार्कीले समेत आफ्ना धारणा राखेका थिए ।
