
पोखरा स्पोर्टस । आहा ! रारा पोखरा गोल्डकपको २४ औं संस्करण अर्को वर्ष पौषको दोश्रो साता भित्र सम्पन्न गरिसक्नुपर्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार साधारण सभाबाट पारित गरेको वार्षिक कार्यक्रम अनुसार आहा ! रारा पोखरा गोल्डकप २०८१ पौषको दोश्रो साता भित्र सम्पन्न गरिसक्नु पर्ने भएको हो ।
एन्फाका अनुसार ‘ए’ डिभिजन लिग अर्को वर्ष पौष १२ गतेदेखि प्रस्ताव गरिए संगै आहा ! रारा पोखरा गोल्डकपको आयोजना मिति पौष १२ गते सम्म गरिसक्नुपर्ने दबाव आयोजकलाई परेको छ । ‘ए’ डिभिजन लिग पुस १२ देखि जेठ १५ गतेसम्म सञ्चालन गर्ने एन्फाको क्यालेन्डरमा उल्लेख छ ।
सहारा क्लब पोखराको आयोजनामा सञ्चालन हुने आहा ! रारा पोखरा गोल्डकपका लागि आयोजकले माघको दोश्रो साताका लागि एन्फा संग अनुरोध गरेको थियो ।
सहारा क्लब पोखराका महासचिव रामजी प्रसाद अधिकारीले पोखरा स्पोर्टस संग कुरा गर्दै आफूहरुले पोखरामा आयोजना हुने तीन ठूला प्रतियोगिता, दर्शकको उपस्थिती लगायतलाई मध्यनजर गर्दै एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलाई माघको दोश्रो साताका लागि क्यालेण्डरमा व्यवस्था गर्न आग्रह गरेको बताए ।
पौष महिना निकै चिसो र छोटो दिन समेत भएकोले कुनै पनि प्रतियोगिताका लागि खासै उपयूक्त नहुने बताउँदै उनले भने–“फुटबलका लागि पौषको महिना त्यती प्रतिकुल हुँदैन । तर विदेशी टिम राम्रो आए खासै फरक पर्दैन,” उनले थपे–“हामीले माघको १६ देखि २७ सम्मका लागि एन्फा अध्यक्ष ज्यू संग आग्रह गरेका थियौं ।”
आहा रारा पोखरा गोल्ड कप नेपालमा आयोजना हुने गोल्डकप मध्ये निरन्तर आयोजना हुने गोल्डकपमा इतिहास समेत दर्ज गरेको छ ।

