
पोखरा स्पोर्टस । १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक बिजेता कराते खेलाडी एरिका गुरुङलाई पोखरामा सम्मान गरिएको छ ।
तमु सांस्कृति प्रतिष्ठान नेपालले आफ्नो २३ वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित एक कार्यक्रमका बीच उनलाई सम्मान गरेको हो । यसै गरी प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकी, नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्च, गण्डकी प्रदेश कराते संघलगायत उनलाई नगद र सम्मान पत्रद्वारा सम्मान गरिएको छ ।

गण्डकी प्रदेश सभका सदस्य एवं पूर्व कृषि मन्त्री बेद बहादुर गुरुङ ‘श्याम’, प्रतिष्ठानका अध्यक्ष चित्र बहादुर गुरुङ, प्रदेश खेलकुद परिषद गण्डकीका पूर्व सदस्य सचिब तेज बहादुर गुरुङ, परिषदका कार्यकारी सदस्य दिल बहादुर गुरुङ, मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाटलगायतले उनलाई खेलकुद मार्फत देशलाई पदक दिलाउन सफल भएकोमा बधाई ज्ञापन गर्दै सम्मान गरेका थिए ।
पोखरामा सम्मान पाए पछि बोल्दै पदक बिजेता एरिकाले आफूलाई सम्मानित हुन पाएकोमा गौरव लागेको बताउँदै आफूलाई अझै धेरै गर्ने हौसला मिलेको बताइन् । उनले भनिन्–“आज पोखरामा आएर यो सम्मान पाउँदा आफूलाई गर्व लागेको छ । यहाँहरुले दिएको हौसलाका लागि धन्यबाद दिन चाहन्छु । यहाँहरुको सम्मानलाई अझै उच्चस्तरमा पुर्याउन मेरो भूमिका रहने छ ।”
१९ वर्षकी एरिका हाङझाउमा सम्पन्न १९ औं एसियाली खेलकुदमा करातेतर्फ रजत पदक जितेकी थिइन । धादिङ घर भएकी एरिकाले जितेको रजत पदक एसियाली खेलकुदको करातेमा नेपाली खेलाडी जितेको पहिलो र एक मात्र हो । एसियाली खेल अघि एरिकाले इन्डोनेसियाको जकार्तामा भएको १० औं विश्व सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन् ।
नेपालको एसियाली खेलकुदको इतिहासमा तेक्वान्दोकी सविता राजभण्डारीले १९९८ को बैंकक एसियाडमा रजत पदक जितेकी थिइन् भने १८ औं एसियाली खेलकुदमा पाराग्लाइडिङको पुरुष टिमले रजत पदक जितेका थिए । सो टिममा विमल गुरुङ, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा रहेका थिए ।
