
पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पहिलो पटक काली गण्डकीमा सम्पन्न राष्ट्रिय र्याफटिङ च्याम्पियिनसिपमा प्याडल नेपाल ‘ए’ टिमले उपाधि जितेको छ ।

चार दिन सम्म चलेको प्रतियोगितामा प्याडल नेपालले ओभरअल तर्फ कुल ९७२ अंक प्राप्त गर्दै उपाधि हात पारेको हो । पोखरामा रहेको प्याडल नेपाललले प्रतियोगितामा सम्पन्न चार वटा छुट्टा छुट्टै इभेन्ट मध्ये स्प्रिन्टमा १००, हेड टु हेडमा २००, सालोलममा ३२२ र डाउन रिभरमा ३५० अंक बटुल्दै समग्रमा उपाधि जितेको प्रतियोगिताका संयोजक एवं प्रदेश खेलकुद परिषदका सदस्य बसन्तराज दवाडीले जानकारी दिए ।
यसै गरी प्रतियोगितामा सहभागि भोटेकोशी ‘बी’ उपविजेता बनेको छ । भोटेकोशी समुहले समग्र चार वटा इभेन्टमा ९४२ अंक प्राप्त गर्न सफल रह्यो भने बागमती प्रदेश कुल ८४२ अंकका साथ तेश्रो स्थान प्राप्त गरेको छ ।
प्रतियोगिताको अन्तिम दिन दुई वटा इभेन्ट सम्पन्न भएको प्रदेश खेलकुदका कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिए । उनका अनुसार डाउन रिभर रेसमा प्याडल नेपाल ए टिम पहिलो हुँदा भोटेकोशी बी दोश्रो र बागमती प्रदेशले तेश्रो स्थान प्राप्त गरेको छ ।
त्यसै गरी र्याफटिङ सालोलमतर्फ भोटेकोसी बी विजेता बनेको छ भने प्याडल नेपाल ए टिमले दोश्रो र बागमती प्रदेशले तेश्रो स्थान प्राप्त गरेको छ । डाउन रिभर र सालोलम तर्फका विजेताहरुले मेडल तथा प्रमाणपत्रका साथमा क्रमश जनही नगद रु १५ हजार, १० हजार र ५ हजार प्राप्त गरे ।
प्रतियोगितामा विजयी खेलाडीहरुलाई पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्य, सशस्त्र प्रहरी बलका प्रहरी उपरिक्षक अरविन्द श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल लगायतले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । सो अवसरमा जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्का र जिल्ला खेलकुद पर्वतका अध्यक्ष हर्कमान गुरुङको समेत सहभागिता रहेको थियो ।
काली गण्डकीलाई सहाशीक खेलकुदको गन्तव्य बनाउने उद्धेश्यका साथ पहिलो पटक उक्त प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा र्याफटिङतर्फ १२ टिम र कायाक सालोलुम कानुको प्रतिस्पर्धामा ५० भन्दा बढि खेलाडीको सहभागिता रहेको प्राविधिक संयोजक नीम बहादुर थापा मगरले बताए । प्रतियोगितामा सात प्रदेश, विभागिय टिम र अन्य क्लबहरुको समेत सहभागिता रहेको थियो ।
