
पोेखरा स्पोर्टस । मदन जयन्तीका अवसरमा मदन भण्डारी स्पोर्टस एकेडेमीले विभिन्न विधामा राष्ट्रव्यापी खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ ।
एकेडेमीले आइतबार गरेको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिइएको हो । एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले ७१ औं मदन जयन्तीको अवसरमा राष्ट्रिय खेलकुद परिषद (राखेप)को सहकार्यमा विभिन्न विधामा राष्ट्रव्यापी खेलकुद प्रतियोगिता गरिने बताए । अध्यक्ष आचार्यका अनुसार एकेडेमीले राजधानी काठमाडौ देखि मधेश प्रदेश सम्मलाई समेट्दै विभिन्न ८ प्रतियोगिताको तयारी थालिएको हो ।
खेल तालिका मिति र पुरस्कार राशी सहित
एकेडेमीद्वारा जारी खेल तालिका अनुसार भैरहवा दमक, विरगंज र जनकपुरमा ट्यालेन्ट हन्टसहित यू–१४, यू–१६ र यू–१८ क्रिकेट प्रतियोगिता प्रतियोगिता हुनेछ । प्रतियोगितामा उपाधि विजेता र उपविजेताले नगद क्रमश ३० हजार र २० हजार प्राप्त गर्नेछन् । प्रतियोगिता असार ३ देखि २० गतेसम्म हुने भएको छ भने खुल्ला कलेजस्तरीय भलिबल प्रतियोगिता असार ८ देखि १३ गतेसम्म बुटवल र काठमाडौंमा हुनेछ । खुल्ला कलेजस्तरिय भलिबल प्रतियोगितामा विजेताले क्रमश प्रथमले नगद १ लाख, द्वितीयले ५० हजार, तृतीय हुने टिमले २५ हजार प्राप्त गर्ने जनाइएको छ ।
यूवाहरु माझ लोकप्रिय खेल रेस्लिङ भने असार १८ गते झापामा हुनेछ । उक्त प्रतियोगितामा विभिन्न इभेन्ट अन्तर्गत विजेता खेलाडी मध्ये लाइट वेट च्याम्पीयनले ६० हजार, ट्याग टिम च्याम्पीयनले ७५ हजार, लेडिज लाइट वेट च्याम्पीयनले ७० हजार, मिडल वेट च्याम्पीयनले ९५ हजार, हार्ड कोर च्याम्पीयनले १ लाख, हेभी वेट च्याम्पीयन १ लाख २५ हजार रुपैया प्राप्त गर्नेछन् ।

बुटवल र काठमाडौंमा असार ११ देखि १६ सम्म विद्यालयस्तरीय बुद्धिचाल हुनेछ भने अन्तर कलेज उपत्यकास्तरीय बास्केटबल काठमाडौंमा हुनेछ । काठमाडौंमा असार १७ देखि १८ सम्म फूल कन्ट्याक्ट कराँते, विभिन्न खेल विधाका प्रशिक्षक एवं व्यवस्थापक तथ अम्पायरहरुलाई लक्षित गर्दै असार २२ गते काठमाडौंमा प्रशिक्षण तथा तालिम र असार २० देखि २१ सम्म उपत्यकास्तरीय तेक्वान्दो प्रतियोगिता ललितपुरमा हुने एकेडेमीकी उपमासचिव सुवर्ण श्रेष्ठले पोखरा स्पोर्टसलाई जानकारी दिइन् ।
नेपाली खेलकुदको विकासका लागि जननेता मदन भण्डारीको स्मृतीमा उक्त एकेडेमी २०६६ मा स्थापना भएको हो । एकेडेमीले ५१ जिल्लामा आफ्नो संगठनलाई विस्तार गरेको जनाएको छ ।


