
पोखरा स्पोर्टस। खेलकुद मार्फत गैंडाको संरक्षणमा जनचेतना जगाउने उद्धेश्यका साथ शनिबार बाट नवलपुरको कोल्हुवामा छैटौं संस्करणको राईनो संरक्षण गोल्डकप सुरु भएको छ । राईनो संरक्षण गोल्डकपको उद्घाटन खेलमा सेन्टर कलेज फोर ब्रोर्दर भुमही विजयी भएको छ । विरगञ्ज युनाईटेड क्लबलाई २–१ ले हराउँदै सेन्टर कलेज फोर ब्रोर्दरले प्रतियोगितामा जित निकालेको हो ।


खेलमा फोर ब्रदर्सका लागि बिनोद केबट र फागुराम चौधरीले समान एक–एक गोल गरे । खेलको अन्तिम ४ मिनेटमा वीरगंज यूनाइटेडका बिकास चौधरीले एक गोल फर्काएका थिए । त्यस्तै आजको खेलमा सेन्टर कलेज फोर ब्रोर्दरका खेलाडी फागुराम चौधरीले म्यान अफ द म्याच घोषित भएका छन् । उनलाई नगद रु ५ हजार नगद पुरस्कार गण्डकी प्रदेशको प्रदेश खेलकुद परिषद्का सदस्य सचिवमा श्रीधर शर्माले हस्तान्तरण गरे ।
प्रतियोगिता अन्तर्गत भोलि अर्थात् माघ २८ गतेको खेल हनामी बीएफसी चितवन र गण्डकी प्रदेशको फुटबल टीम बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । राइनो क्लब, मध्यविन्दु–४ नवलपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, सर्वाधिक गोलकर्ताले १० हजार र म्यान अफ द म्याच हरेक खेलमा ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा नेपाल आर्मी, सेन्टर कलेज फोर ब्रोर्दर, २८ बिगाहा, लुम्बिनी प्रदेश, संकटा क्लब, मछिन्द्र क्लब, हनामी बीएफसी क्लब, गण्डकी प्रदेश, बागमती प्रदेश, एपीएफ र पुलिस क्लबको सहभागीता छ ।
यस अघि प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिम्खडाले गरिन् । सो अवसरमा बोल्दै मन्त्री सिम्खडाले गण्डकी प्रदेशको खेल विकासका लागि प्रदेश सरकार प्रतिवद्ध भएको जनाउँदै यस प्रकारका प्रतियोगिताहरुलो समाजमा बन्यजन्तुको संरक्षणमा जनचेतना जगाउन भूमिका खेल्ने बताइन् । उनले भनिन्–“खेल क्षेत्र एक मात्र त्यस्तो क्षेत्र हो । जो जित्नका लागि हतियार उठाउनु पर्दैन । खेल क्षेत्रले समाज रुपान्तरण संगै बन्यजन्तुको संरक्षणको भूमिका लागि समेत जनचेतना जगाउन समेत भूमिका खेल्छ ।” उनले खेल क्षेत्रले समाजका हरेक वर्गलाई समेट्दै एकताको शुत्रमा बाँध्ने अभियानमा समेत उत्तिकै प्रभावकारी भूमिका खेल्ने बताइन् ।
उद्घाटन कार्यक्रममा आफ्ना भनाई राख्दै प्रदेश खेलकुद परिषका सदस्य सचिव श्रीधर शर्माले परिषदले आफ्ना कार्यक्रमहरु योजनाबद्ध रुपमा अघि बढाएको बताए । उनले प्रदेशका खेलाडीहरुको हितका लागि विभिन्न कार्यक्रम सहित रेफ्री तथा प्रशिक्षकहरुको सुचिकरण, दुर्घटना विमा, खेलाडी र खेलाडीका परिवारलाई सुविधा अन्तर्गत सर्वसुलभ शिक्षा र स्वास्थ्य सेवा प्राप्त गर्ने लगायतका विषयमा समेत परिषदले योजनाहरुलाई कार्यान्वयनको दिशामा अघि बढाएको उल्लेख गरे ।
नवलपुर न्यूजको सहयोगमा
