
पोखरा स्पोर्टस । इटहरीका आयुष गौतम र काठमाण्डौंका वाङचुक तामाङ पोखरा जारी खुल्ला नेपाल स्नुकर प्रतियोगिता २०८० को फाइनलमा भिड्ने भएका छन् । आज (शुक्रबार) भएको सेमिफाइनलमा दुबै जनाले जित हासिल पार्दै फाइनलमा यात्रा बनाएका हुन् ।
पोखराको ड्यामसाइडमा रहेको बि एण्ड बि कम्प्लेक्स स्थित फाइनल स्कोर स्पोर्टस बारमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा इटहरीका गौतमले काठमाण्डौंका राजन लामालाई ६—५ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगे । त्यसै गरी अर्को खेल सेमिफाइनलमा काठमाण्डौंका तामाङले अन्तराष्ट्रिय काठमाण्डौंकै खेलाडी रेगन श्रेष्ठलाई ६—१ को सेटमा सहज जित हासिल गर्दै फाइनलमा यात्रा बनाए । सेमिफाइनल खेल वेष्ट अफ इलेभेनमा भएको हो ।
गौतम र तामाङ उपाधि सहित १ लाख ५० हजार नगद पुरस्कारको लागि आइतबार फाइनल खेलमा प्रतिष्प्रर्धा गर्ने भएको आयोजक फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.का अध्यक्ष सोम बि.क.ले बताए । फाइनलमा पुग्ने दुबै खेलाडी नेपालका उत्कृष्ट मध्यका स्नोकर खेलाडीहरु हुन् ।
काठमाण्डौंका दुई खेलाडी राजन लामा र रेगन श्रेष्ठलाई भने ट्रफीको साथमा जनही २०/२० हजार पुरस्कार प्राप्त गरे । यही माघ २८ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा १ सय २३ जना खेलाडीहरु सहभागि भएको प्रा.लि.का संचालक मध्यका एक प्रताप गुरुङले बताए ।
प्रतियोगितामा उपविजेतालाई ७० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिने भएको हो । उक्त प्रतियोगिताको मुख्य सहयोग पोखरा महानगरपालिकाले गरेको आयोजकले जनाएको छ । उक्त प्रतियोगिताले पोखराको खेल पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने आयोजकले दाबी गरेको छ ।
