
पोखरा स्पोर्टस । पोखरा अन्तर्राष्ट्रिय म्याराथनको मिति नजिकिंदै जाँदा आयोजक र पोखरेलीहरु मात्रै नभई विश्वनै पोखरा म्याराथनको तापले तातेको छ ।
पोखरा म्याराथनमा विदेशी धावक सहभागि हुन आउँछन् भन्ने कुरा नौलो नभए पनि विदेशी नागरिकहरु भोलिन्टिएरका लागि आउन तछाड् मछाड हुन थाले पछि आयोजक समेत अचम्भित भएको छ । पोखरा म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले नेपाली यूवाहरुलाई म्याराथनमा आकर्षण गर्न भोलिन्टिएरका लागि आउन खुल्ला आह्वान गरिरहेको बेला विभिन्न देशका नागरिकहरु समेत स्वयंसेवकका लागि आउन निवदेन पेश गरेका हुन् ।
पोखरा म्याराथनको सम्पूर्ण प्रविधीलाई आफ्नो तर्फबाट सञ्चालन गरिरहेका जेरोन टेक्नोलोजीका बाबुराम नेपालीले एक दर्जन भन्दा बढि विदेशीहरु भोलिन्टिएरका लागि पोखरा आउन आतुर रहेको पोखरा स्पोर्टसलाई बताए । उनले भने–“यो राम्रो संकेत हो । उनीहरुले आफ्नो वायोडाटा समेत पठाएका छन् । उनीहरु पोखरा घुम्न मात्रै नभई सेवा भावनाले आउन चाहेका हुन् ।”
विदेशी भोलिन्टिएरहरु एकै पटक धेरै बोलाउँदा आयोजकलाई समेत समस्या हुने भए पछि केही प्राविधिकरुपमा दक्ष भोलिन्टिएरलाई मौका दिने विषयमा आयोजकले सोच बनाएको मञ्चका निवर्तमान अध्यक्ष तेज गुरुङले बताए । “उनीहरु आफ्नै खर्चमा आउँछु भनेका छन् । यो खुसीको विषय हो । तर हामीले यस बारे अझै पुरा निर्णय नलिए पनि एथलेटिक्स विशेष गरी म्याराथन संग नजिक भोलिन्टिएरहरु प्राविधिकको रुपमा बोलाउँदैछौं ।”–उनले भने । उनले आवेदन दिएक भोलिन्टिएरहरुको प्रमाणपत्रहरु अध्ययन भइरहेको जनाए ।
विश्वमा आयोजना हुने वृहत् प्रतियोगिताहरुमा भोलिन्टियरका लागि आवेदन दिने हजारौंको संख्यामा हुने भए पनि पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा पहिलो पटक विदेशीहरुको चाहना बढेको हो । मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले भोलिन्टियरको आवेदन पर्नु शुखद रहेको जनाउँदै केही विदेशीहरुलाई मात्रै पोखरा आउन निम्तो दिने बताए ।
पोखरा आउन चाहेका मध्ये एक हुन मोरोक्कन नागरिक मौनिर बेल्केबिर । उनी वर्ल्ड एथलेटिक्सबाट लेभल १ सर्टिफाइड एथलेटिक्स प्रशिक्षक समेत् हुन् । उनी प्राविधिकरुपमा समेत दक्ष भएकोले मञ्चले उनलाई पहिलो पटक अवसर दिन लागेको मञ्चले जनाएको छ । उनी पोखरा आए संगै विभिन्न रुटमा खटिने स्थानिय भोलिन्टिएर र जजहरुलाई प्रशिक्षण दिने छन् भने आफू समेत पोखरा म्याराथनमा खटिनेछन् ।
यस्तै पोखरा म्याराथनको विभिन्न रुटका चोक र सडकहरुमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीका र अन्य विभिन्न खेलका खेलाडीहरु गरी ३ सय भनदा बढि भोलिन्टियरहरु परिचालन गर्ने तयारीमा रहेको पोखरा म्याराथनका प्राविधिक संयोजक खड्ग बहादुर रानाभाटले जनाए । उनले भने–“हामी अन्तिम तयारीमा छौं । एक दिन वा दुई दिन सम्म हामी उनीहरुलाई प्रशिक्षण दिनेछौं । हामी वर्ष भरी पोखरा म्याराथनको तयारीमा जुट्छौं । ५/६ घन्टामा सबै कार्यक्रम सकिन्छ । त्यसैले पनि सानो–सानो त्रुटीहरु सच्चायाउँदै हामीेले पोखरा म्याराथन सम्पन्न गर्नुछ ।”
