
पोखरा स्पोर्टस । सहारा एकेडेमी सञ्चालनमा भावी योजना तय गर्न सहारा क्लबका भातृ संस्थाहरु विच एक संयूक्त छलफल सम्पन्न भएको छ ।
सहारा क्लब पोखराको बिहीबार संयुक्त बैठकमा भावी योजनाका बारेमा विस्तृत छलफल भएको क्लबले जनाएको हो । पोखरा रंगशालामा जारी २३ औं आहा रारा पोखरा गोल्डकप अवसरमा यहाँ आएका सहारा युके, सहारा हङकङका अध्यक्षहरु, पदाधिकारीहरुको संयूक्त बैठक बारे जानकारी दिंदै सहारा क्लबका अध्यक्ष केशवराज बरालले एकेडेमीमा आश्रीत विपन्न वर्गका बालकहरुको भरण पोषण संगै ब्यवसायिक खेलाडी उत्पादनमा सबैको भूमिका र सहयोगका बारे छलफल भएको जानकारी दिए ।

छलफलमा सहारा युकेका अध्यक्ष कृष्ण गुरुङ, सहसचिव मन्जु गुरुङ राई, पूर्व अध्यक्ष रि.ले.क. कुसाङ गुरुङ, उनकी धर्मपत्नी पञ्च कुमारी गुरुङ, सल्लाहकार कृष्ण गुरुङ, मुछेत्र गुरुङ, लालकाजी गुरुङ, एफसी फाउन्डर चियरमेन हरिकुमार श्रेष्ठ/सरिता श्रेष्ठ सहभागी थिए ।
यस्तै, डाइमन्ड बुद्धिस्ट सेन्टर युके अध्यक्ष एवं सहाराका सल्लाहकार योगेश गुरुङ, कार्यसमिति सदस्य देव गुरुङ, एसके गुरुङ, राम गुरुङ, गमहादुर गुरुङ, यशोदा गुरुङ, अशोक गुरुङ, भोज गुरुङ, मेजर रोज गुरुङ लगायत उपस्थित रहेको क्लबले जनाएको छ । साथै सहाराका मानार्थ सदस्य महेश गुरुङ, लोक गुरुङलगायत सो अवसरमा सहभागी रहेको क्लबले जनाएको छ ।
२०५५ सालमा स्थापित सहारा क्लबको सहारा युके, सहारा हङकङ र सहारा अष्ट्रेलिया शाखा छन् । क्लबले पोखरा १७, दोबिल्लामा संचालन गरेको एकेडेमीमा चौंथो ब्याचमा ८ जिल्लाका १४ जना बालक आश्रित छन् । एकेडेमी संचालनका लागि क्लबले बर्षेनी फुटबल प्रतियोगिता गर्दै आएको छ ।
नेपालमा नियमितरुपमा सञ्चालन हुने इतिहास रचेको आहा रारा पोखरा गोल्डकपको २३ औं संस्करण पोखरा रंगशालामा जारी छ । क्लबले सहारा एकेडेमी सञ्चालनका लागि उक्त प्रतियोगितालाई मुख्य रुपमा लिंदै आएको भए पनि विगत केही वर्ष यता कोभिड–१९ का कारण क्लबलाई एकेडेमी सञ्चालनर्थ समस्या हुँदै आएको छ ।
हाल चौथो व्याचका बालकहरुको नयाँ भर्ना संगै आश्रित बालकहरुलाई शिक्षा, फुटबल प्रशिक्षणलगायतका विषयमा थप सहयोगीहरुको खोजी गर्न समेत् छलफल भएको एक सहभागिले बताए ।
तस्बिर : सुदर्शन रञ्जित
