
पोखरा स्पोर्टस । १९ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको खेलाडी दर्ता प्रक्रिया सुरु भएको छ । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजना हुने प्रतियोगिताको खेलाडी अनलाइन दर्ता सुरु भएको हो ।
पोखरालाई खेलकुदको माध्यमबाट विश्व मानचित्रमा पहिचान गराउन २०५८ सालमा सुरु भएको पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था एम्सले समेत मान्यता दिएको छ । पोखरा अन्तर्राष्ट्रिय म्याराथन दक्षिण एसियाकै दोस्रो पुरानो म्याराथनको रुपमा समेत पहिचान बनाएको छ ।
पोखराको मुख्य बजार हुँदै पोखराकै मुख्य पर्यटकिए केन्द्र फेवाताल लगायत धार्मिक केन्द्रहरुको परिक्रमा गर्दै आयोजना हुने पोखरा म्याराथन विशेष म्याराथनको रुपमा आफूलाई स्थापित गर्दै आएको छ ।
पोखरा म्याराथलाई गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगर पालिका, नेपाल पर्यटन बोर्डलगायत महत्वपूर्ण संस्थाहरुले सहयोग गर्दै आएका छन् भने अन्तर्राष्ट्रिय पार्टनरको रुपमा पोखरेली मञ्च युके, तमु धि यूके, सहारा यूके, बगर भाई खलक यूके, अस्ट्रेलिया, अमेरिका, जापानबाट समेत सहयोग रहँदै आएको छ ।
म्याराथन अन्तर्गत म्याराथन (४२.१९५ किमि), महिला हाफ म्याराथन, ५ किमि छात्र/छात्रा दौड, १० किमि महिला/पुरुष दौड, दृष्टिविहिन र ह्विल चियर दौड महिला/पुरुष दौड हुनेछन् । पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा हाल सम्मकै नेपालको ठुलो पुरस्कार राशी समेत प्रदान गर्दै आएको छ ।
गत वर्ष सम्पन्न १८ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा १५ हजार भन्दा बढिको सहभागिता रहेको थियो । म्याराथनलाई वातावरण मैत्री बनाउन सम्पूर्ण दर्ता प्रक्रियाहरु अनलाइनमार्फत मात्रै हुने आयोजकले जनाएको छ । दर्ता प्रक्रिया www.pokharamarathon.org मार्फत हुने जनाइएको छ । पोखरा अन्तर्राष्ट्रिय म्याराथन हरेक वर्ष फागुनको पहिलो साताको पहिलो शनिबार आयोजना हुने गर्दछ ।
