
पोखरा स्पोर्टस । नेपाल गल्फ संघले दुई अलग अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाने राष्ट्रिय टिमका खेलाडीहरू सदभाव आचार्य, राहुल विश्वकर्मा र कश्मीरा शाहलाई बिदाई गरिएको छ । उनीहरूलाई नेपाल गल्फ संघका कोषाध्यक्ष किशन अग्रवालले बिदाई गरेका हुन् ।
सदभाव र राहुलले ३७ औं संस्करणको बङ्गलादेश एमेच्योर ओपन गल्फ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दैछन। प्रतियोगिता यही बुधबारदेखि शनिबारसम्म ढाकाको कुर्मीतोला गल्फ क्लबमा हुनेछ ।
सदभाव र सुवाश तामाङले गत संस्करणमा टिम स्पर्धामा कुल ४–ओभर २ सय ९२ को स्कोरमा नेपाललाई स्वर्ण दिलाएका थिए। १२ टिम सहभागी प्रतियोगितामा नेपाल पहिलो भएको थियो। यो पटक राहुल र सदभावलाई नेपालको लागि लगातार दोस्रो पटक स्वर्ण दिलाउने अवसर रहेको छ। दुवै खेलाडीले टिम र व्यक्तिगत दुवैतर्फ प्रतिस्पर्धा गर्नेछन् ।
यो प्रतियोगितामा अहिलेसम्म नेपालले व्यक्तिगततर्फ भने स्वर्ण जित्न सकेको छैन। गत संस्करणमा सुवाशले व्यक्तिगततर्फ रजत पदक जितेका थिए । सुवाश श भने भारतीय गल्फ टुरको क्यु–स्कुल खेल्ने तयारीमा रहेका छन। यही कारण उनले सहभागीता नजनाएका हुन् ।
सदभावसँग यो प्रतियोगिताको अनुभव रहेको र पछिल्लो समय एसियन गेम्स र एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसीपमा पनि सहभागी भएको कारण उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिएको छ । राहुलले पछिल्लो समय तरूण सरदेशाई एकेडेमीमा प्रशिक्षण गरेका थिए। राहुल एकेडेमीबाट नेपाल फर्किसकेका छन। केहि दिनदेखि सदभाव र राहुलले गोकर्ण क्लफ क्लबमा प्रतियोगिताको तयारी गरिरहेका छन। राष्ट्रिय टिमबाट राहुलले पहिलो पटक सहभागीता जनाउँदै छन् ।
सदभाव र राहुल टिम व्यवस्थापक समेत रहेका नेपाल गल्फ संघका सचिव श्रीराम भण्डारी सोमवार ढाका प्रस्थान गर्नेछन् ।
नेपाली राष्ट्रिय महिला गल्फ खेलाडी कश्मीरा शाहले वुमन्स एमेच्योर एसिया प्यासिफिक च्याम्पियनसीपमा भाग लिदैछिन । थाइल्याण्डको पटायास्थित सायम कन्ट्री क्लबमा हुने च्याम्पियनसीपमा वरियताको आधारमा कश्मीरालाई नेपाल गल्फ संघले छनोट गरेको हो । उनी महिला विश्व गल्फ वरियतामा ९ सय ३७ औं स्थानमा रहेकी छिन् ।
च्याम्पियनसीप माघ १८ गतेदेखि २१ गतेसम्म हुनेछ। जहाँ एसियाका ९० महिला एमेच्योर गल्फरले प्रतिस्पर्धा गर्नेछन । कश्मीराले यो प्रतियोगिता लगातार दोस्रो पटक खेल्न लागेको हो ।
कश्मीरा आज नै बैंकक जाँदैछिन। नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले उक्त प्रतियोगितामा व्यवस्थापकको जिम्मेदारी निर्वाह गर्नेछन् ।
