हिसान कास्की जिल्लास्तरिय फुटसलको उपाधि जेसिएले जित्यो

पोखरा स्पोर्टस । हिसान गण्डकीको आयोजनामा पोखरामा भएको प्रथम हिसान कास्की जिल्लास्तरिय फुटसल प्रतियोगितामा पोखरा २६ लेखनाथको जुनियर सिटिजन एकेडेमी (जेसिए)ले उपाधि जितेको छ ।

कास्की छनौट प्रतियोगिताको फाइलनमा जेसिएले कास्की मोर्डनाइज एकेडेमीलाई २–१ गोलले हराउदै उपाधि जितेको हो । फाइनलमा जेसिएका लागि विकास परियार र विमल चन्द्रले समान १–१ गोलको योगदान दिए । त्यसै गरी कास्की मोडनाइजका लागि विजय गिरीले एक गोल गरे ।

आइतबार नै भएको सेमिफाइनल खेलमा कास्की मोडनाइजले करुणनिधि एजुकेसन फाउण्डेसनलाई ५–० गोलले हराउँदै फाइनल प्रबेश गरेको थियो । त्यसै गरी जेसिएले सगरमाथालाई ३–२ गोलले हराउदै फाइनल प्रबेश गरेको थियो ।

विजयी खेलाडीलाई प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङ, हिसान गण्डकीका अध्यक्ष रमाकान्त बराल, वरिष्ठ उपाध्यक्ष डा.रामजी शर्मा, कास्की अध्यक्ष यमबहादुर रोक्का, प्रतियोगिताका संयोजक सन्तोष पराजुली, सबिन मेमोरियल फुटबल क्लबका अध्यक्ष सन्जय लिगल, प्रदेश खेलकुद परिषद्की सदस्य निर्मला बराललगाएतले ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरेका थिए ।

प्रतियोगितामा हिसान गण्डकीको सदस्य विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएका थिए । कास्की जिल्लाबाट ८ टिम छनौट हुनेछन् । उनीहरुले प्रदेशस्तरीय प्रतियोगितामा सहभागीता जनाउने छन् । छनौट भएका टिममा सगरमाथाका दुई टिम, लिटिलस्टेप, केफ, जेसिए, माउण्ट अन्नपुर्ण, कास्की मोडनाइज, सृजना सेकेण्डरी स्कुल छनोट भएका छन् ।

कास्कीबाट ८ र अन्य जिल्लाबाट ८ गरी १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक सन्तोष पराजुलीले जानकारी दिए । फागुन पहिलो साता प्रदेशस्तरीय प्रतियोगिता हुने छ । प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफि र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close