शुक्रद्वारा सूर्य नेपाल इस्टर्न ओपनको उपाधि रक्षा

पोखरा स्पोर्टस । नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राईले सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको तेस्रो प्रतियोगिता, सूर्य नेपाल इस्टर्न ओपनको उपाधि रक्षा गरेका छन् ।

अन्तिम दिन १–अन्डर ६९ सहित समग्रमा ३–अन्डर २ सय ७ को स्कोरमा धरानका अर्का प्रो नीरज तामाङलाई ५ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै शुक्रले लगातार दोस्रो पटक उपाधि जितेका हुन् । शुक्रको यो करियरको दशौं प्रमुख उपाधि हो । उनले उपाधिसँगै नगद १ लाख ४० हजार प्राप्त गरेका छन। दशौं उपाधि जित्दै शुक्रले भेट्रान प्रो दीपक थापा मगर र पुर्व नम्बर एक गल्फर दीपक आचार्यसँग उपाधि सङ्ख्या बराबरी गरेका छन् ।

अन्तिम १८ होलको सुरूवात गर्दा मात्र एक स्ट्रोकले पछि रहेका नीरजले आज शुक्रलाई चुनौती दिन सकेनन। ३–ओभर ७३ को खराब प्रदर्शन गर्दा समग्रमा २–ओभर २ सय १२ को नतिजामा दोस्रो स्थानमा खेल सकाए। उनले ९६ हजार नगद हात पारे । पुर्व नम्बर एक गल्फर भुवन नगरकोटी समग्रमा ३–ओभर २ सय १३ सहित तेस्रो भए। उनले आज १–ओभर ७१ मा खेल सकाए। उनले ७२ हजार प्राप्त गरे ।

समग्रमा ७–ओभर २ सय १७ को स्कोरमा राजेन राई, भुवन कुमार रोक्का र रामे मगरले संयुक्तरुपमा चौथो स्थान बाँडे। राजेन र भुवनले आज ३–ओभर ७३ मा खेल सकाउँदा रामेले १–ओभर ७१ खेले। उनीहरूले जनही ५० हजार ५ सय नगद पुरस्कार आफ्नो नाममा लेखाए ।

समग्रमा ९–ओभर २ सय १९ को स्कोरमा‌ रबि खड्का सातौं हुदै ३९ हजार नगद हात पारे। उनले आज ५–ओभर ७५ मा खेल सकाए । समग्रमा १० ओभर २ सय २० को नतिजा निकालेका सञ्जय लामा र सूर्य प्रसाद शर्माले संयुक्तरुपमा आठौं स्थानमा प्रतियोगिता सकाए। उनीहरूले जनही ३४ हजार २ सय ५० नगद प्राप्त गरे। धरानका देउराज पाख्रीनले समग्रमा ११–ओभर २ सय २१ को स्कोरमा दशौं हुदै ३१ हजार हात पारे । आज उनले ३–ओभर ७३ मा खेल पुरा गरे ।

एमरच्योरतर्फ गजेन्द्र गुरूङ समग्रमा ८–ओभर २ सय १८ सहित युवराज भुजेललाई काउन्ट ब्याकमा हराउँदै उपाधि जित्न सफल भए। आज गजेन्द्रले ३–ओभर ७३‌ र युवराजले ६–ओभर ७६ को स्कोर गरे । समग्रमा ११–ओभर २ सय २१ सहित सुमन परियार र सुन्दर राईले संयुक्तरुपमा तेस्रो स्थान बाँडे। सुमनले आज इभन–पार ७० मा खेल सकाउँदा सुन्दरले ५–ओभर ७५ मा खेल पुरा गरे ।

अन्तिम १८ होलको खेल सुरू हुदा शुक्र नीरज भन्दा मात्र एक स्ट्रोकले पछि रहेकोले उपाधि दौड प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको थियो । तर नीरजले शुक्रलाई चुनौती दिन सकेनन । शुक्रले सानदार सुरूवात गरे । तेस्रो देखि छेटौं होलसम्म लगातार चार बर्डीको सफलता प्राप्त गरे । आठौं होलमा एक सट गुमाएपछि फ्रन्ट नाइन ३–अन्डर ३३ मा पुरा गरे। सुरूवात राम्रो गरेपछि शुक्रले ब्याक नाइन बिना दबाब खेले। ११औं होलमा एक सट बचाउँदा १३औं, १४औं र १६औं होलमा बोगी खेपे। ब्याक नाइन २–ओभर ३६ मा पुरा गरेपनि ५ स्ट्रोकको सानदार नतिजामा च्याम्पियन बने ।

नीरजले फ्रन्ट नाइन १–अन्डर ३५ मा सकाए। तेस्रो, छैटौं र नवौं होलमा एक–एक सट बचाए। तर पाँचौँ र आठौं होलमा बोगी प्रहार गरे। फ्रन्ट नाइन सकिंदा नीरज शुक्र भन्दा ३ स्ट्रोकले पछि थिए भने उनले ब्याक नाइनमा बिर्सनलायक ४–ओभर ३८ को प्रदर्शन गरे । १०औं, १४औं र १७औं होलमा बोगी र ४–पारको १५औ होलमा डबल बोगीको सामना गरे । अन्तिम होलको बर्डीले दोस्रो स्थान प्राप्त गरे ।

भुवनले ५–पारको छैटौं होलमा डबल बोगी प्रहार गरे । तेस्रो, छैटौं र नवौं होलको बर्डीको मद्दतमा फ्रन्ट नाइन १–अन्डर ३५ मा‌ पुरा गरे । ब्याक नाइनमा तीन बोगी प्रहार गरे। १३औ, १४औं र १७औं होलमा एक–एक सट खेर फाले। १८औं होलमा बर्डी सहित ब्याक नाइन २–ओभर ३६ मा सकाए ।

कुल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगितामा ३० प्रो र १७ एमेच्योर गरी कुल ४७ गल्फरको सहभागीता रहेको थियो ।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका मार्केटिङ्ग म्यानेजर केशव प्रधान, नेपाल गल्फ संघका उपाध्यक्ष तिलक राई, कोशी प्रदेश गल्फ संघका उपाध्यक्ष भरत तामाङ र धरान गल्फ कल्बका अध्यक्ष वीरेन्द्र विक्रम लिम्बुले पुरस्कार वितरण गरे ।

प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो–एम प्रतियोगिता हुनेछ। सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत ६५ लाख पुरस्कार राशिको कुल आठ प्रतियोगिता हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close