पोखरा क्रिकेट खेल मैदान स्तरोन्नती गर्न प्रदेश सरकार संग आग्रह

पोखरा स्पोर्टस । पोखरा रंगशाला क्रिकेट खेल मैदानको स्तरोन्नतीका लागि गण्डकी प्रदेश सरकार संग आग्रह गरिएको छ ।

गण्डकी प्रदेश क्रिकेट संघले गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय मार्फत स्तरोन्नतीका लागि आग्रह गरिएको हो । संघका अध्यक्ष सञ्जयकान्त सिग्देल सहितको टोलीले मंगलबार सरकारका कार्यबहाक मुख्यमन्त्री समेत रहेका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापा संग भेट गरी यथासिघ्र मैदानको स्तरोन्नती गर्न आग्रह गरेको छ ।

सन २०२७ मा हुने यू–१९ वर्ल्ड कपको तयारी र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुको आयोजनाका लागि सहज गर्न समेत मैदानको स्तरोन्नती उत्तिकै अपरिहार्य रहेको संघले सरकारलाई बुझाएको पत्रमा उल्लेख छ ।

संघका अध्यक्ष सिग्देलले करिव १२ वर्ष अघि खेल्न लायक गरी निर्माण भएको मैदानको सतह विग्रिएको, शौचालय, साइट स्क्रिन, फेन्स मर्मत गर्नुपर्ने संगै रोलरको मर्मत आवश्यक रहेको बताए । उनले भने–“१२–१३ भयो खेल मैदान मर्मत भएको छैन । मैदान उवड–खावड अवस्थामा छ । कम्तिमा एक सय ट्रक माटो फिलिङ गर्नुपर्ने हुन्छ । संगै–संगै रोलरको समेत मर्मत गर्नु छ ।”

संघले प्रदेश सरकारलाई बुझाएको पत्रमा मैदानको आउट फिल्डमा माटो राखी सम्याउने, मैदानको भित्री भागमा पानीको निकासको व्यवस्था र पिचको स्तरोन्नती गर्नुपर्ने विषयहरु उल्लेख गरिएको छ । “हामी संग अहिले तत्कालै कुनै पनि क्रिकेट प्रतियोगिताको लागि बैकल्पिक खेल मैदान छैन । हामी पूर्ण रुपमा पोखरा क्रिकेट खेल मैदानमा निर्भर छौं । त्यसैले पनि मैदान मर्मत गर्नु बाहेको विकल्प छैन”–अध्यक्ष सिग्देलले भने ।

मन्त्री थापाले गण्डकीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अन्य खेल मैदानको अवस्थाका बारेमा समेत चासो राख्दै अन्य मैदान निर्माण कार्य सम्पन्न नहुँदा सम्म पोखरा रंगशालाकै क्रिकेट खेल मैदान स्तरोन्नतीका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए ।

सो अवसरमा मन्त्रालयका सचिव प्रकाश पौडेल, प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा, परिषदका कार्यकारी सदस्य ऋषीराम गौतम, संघका निवर्तमान अध्यक्ष देवेन्सन प्रजु, नेपाली राष्ट्रिय महिला टोलीका सहायक प्रशिक्षक रिजन प्रजु लगायतको सहभागिता रहेको थियो ।

स्मरणिय के छ भने गण्डकी प्रदेश सरकारले नवलपुरको नव दुर्गा खेल मैदान र तनहुँ शुक्ला गण्डकी स्थित गाउँफर्क खेल मैदानलाई प्रदेश स्तरीय क्रिकेट रंगशालाको रुपमा घोषणा गर्दै निर्माण कार्य अघि बढाउन बजेट समेत विनियोजन गरेको छ । त्यस संगै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि पोखरा २९ स्थित पटनेरीमा जग्गा प्राप्ती संगै अध्ययन गरी प्रतिवेदन पेश गर्न सर्च कमिटी गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close