सूर्य नेपाल इस्टर्न ओपन बुधबारदेखि धरानमा

पोखरा स्पोर्टस । सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको तेस्रो प्रतियोगिता, सूर्य नेपाल इस्टर्न ओपन बुधबारदेखि धरान गल्फ क्लबमा सुरू हुँदैछ । तीन दिन सम्म चल्ने प्रो प्रतियोगिता ५४ होलको हुने भएको हो ।

प्रतियोगितामा ३० प्रोफेसनल र १० एमेच्योर गल्फरले भाग लिने निश्चित भएको नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन एनपीजीएका महासचिव दीपक आचार्यले बताएका हुन् । मङ्गलबार सम्म नाम दर्ता गर्ने समय रहेकोले सहभागी सङ्ख्या बढ्न सक्ने उनले जनाए । काठमाडौं बाहिर हुने दुई प्रतियोगिता माध्ये सूर्य नेपाल इस्टर्न ओपनमा धरानका ५ प्रोफेसनल गल्फरको सहभागीता रहनेछ ।

प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन तथा नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राई घरेलु कोर्समा उपाधि रक्षा गर्ने कोशिसमा रहनेछन। यो सिजन उत्कृष्ट फर्ममा रहेका तथा सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल म्याच प्लेका उपाधि विजेता दिनेश प्रजापति पनि प्रमुख दाबेदार हुन् ।

यस्तै भुवन नगरकोटी,जयराम श्रेष्ठ, नीरज तामाङ, सञ्जय लामा, धन थापा पनि दाबेदार खेलाडी हुन् । ३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ २१ टप प्रोफेसनल खेलाडीले अन्तिम १८ होलको लागि स्थान बनाउनेछन। यो पटक देखि एमेच्योर खेलाडीको हकमा भने प्रोफेसनल खेलाडीको कटमा पर्नेले मात्र अन्तिम १८ होलको प्रतिस्पर्धामा सहभागीता जनाउन पाउनेछन् ।

प्रतियोगितामा नेपाली राष्ट्रिय गल्फ टिमका दुई उत्कृष्ट एमेच्योर खेलाडी सुबाश तामाङ र सदभाव आचार्यले सहभागीता जनाउने छैनन् । सुबाश भारतीय गल्फ टुरको क्यू– स्कुलको तयारीमा रहदा सदभाव बङ्गलादेश ओपनमा सहभागी हुदैछन् ।

कुल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार, दोस्रो र तेस्रो हुनेले क्रमश ९६ हजार र ७२ हजार नगद पुरस्कार प्राप्त गर्नेछन। साथै उत्कृष्ट २१ मा पर्न सफल प्रो गल्फरले नगद हात पार्नेछन। प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो–एम प्रतियोगिता हुनेछ ।

एनपीजीएका अध्यक्ष रबिन्द्रमान श्रेष्ठले प्रायोजक सूर्य नेपाल प्रालिलाई निरन्तरको सहयोग र साथको लागि धन्यवाद दिए । सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत कुल आठ प्रतियोगिता हुनेछन् । जसमा कुल ६५ लाख नगद पुरस्कार रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close